खडेरी र गर्मीले प्रभावित पश्चिम तराईमा पनि मौसम बदली, पानी पर्ने सम्भावना

 असार ४, २०८० सोमबार १७:२८:२० | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डाै – आज (साेमवार) देखि पश्चिम तराईमा पनि माैसम बदली सुरु भएर पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

देशका अरू क्षेत्रमा पानी पर्दा मध्य र पश्चिम तराईमा लामो समयदेखि खडेरी र तातो हावा (लू) चलिरहेको छ । तर आज बेलुकादेखि भने पश्चिम तराईमा पनि बदली भएर केही ठाउँमा पानी पर्ने सम्भावना रहेको त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम केन्द्रीय विभागका सहप्राध्यापक तथा मौसमविद् डा. विनोद पोखरेलले बताउनुभयो ।

दिउँसो दाङ, बाँके र बर्दियाका केही ठाउँमा पानी परेको छ । बेलुका रुपन्देही, कपिलवस्तु, दाङलगायतका जिल्लाका केही ठाउँमा हल्का पानी पर्ने र भोलि (मङ्गलवार) रातिदेखि भने धेरैजसो ठाउँमा पानी पर्ने माैसमविद् पाेखरेलकाे भनाइ छ ।

पूर्वी क्षेत्रमा मनसुन सक्रिय भएर ठूलाे वर्षा हुन थालेको छ । आज राति कोशी प्रदेशका पहाडी क्षेत्रमा ठूलो वर्षाको सम्भावना रहेको मौसमविद् विनु महर्जनले जानकारी दिनुभयो । यस्तै आज गण्डकी र बाग्मती प्रदेशमा हल्कादेखि मध्यम खालको वर्षाको अनुमान गरिएको छ । तर मध्य र पश्चिम क्षेत्रमा भने लामो समयदेखिको खडेरीले नागरिक हैरान भएका छन् । बालीनालीमा ठूलो क्षति पुगेको छ ।

यस्तै काठमाण्डौ उपत्यकाका केही ठाउँमा अहिले हल्का पानी परिरहेको छ । काठमाण्डौसँगै लुम्बिनी, गण्डकी, बाग्मती र कोशी प्रदेशमा हल्का वर्षा भइरहेको मौसमविद्ले बताएका छन् । यी ठाउँमा आज राति पनि हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । अहिले देशको पूर्वी तथा मध्य भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू–भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

यसैबीच अझै तीन दिन ताप्लेजुङ र पाँचथरमा बाढीको उच्च जोखिम रहेकोले सतर्कता अपनाउन जल तथा मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । महाशाखाकाअनुसार ताप्लेजुङ र पाँचथर भएर बग्ने नदी तथा खोलाहरूमा बाढी आउने जोखिम कायमै छ ।

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया