प्रदेश ४ को नीति कार्यक्रम : प्रतिव्यक्ति आय २५ सय डलर पुर्‍याउने घोषणा

 जेठ २५, २०७५ शुक्रबार १८:२९:१७ | उज्यालो सहकर्मी

कास्की – प्रदेश नम्वर ४ को सरकारले अबको पाँच वर्षभित्र प्रतिव्यक्ति आय २५ सय अमेरिकी डलर पुर्‍याउने घोषणा गरेको छ ।

शुक्रबार प्रदेश नम्बर ४ ले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा प्रदेशको प्रतिव्यक्ति आय २५ सय अमेरिकी डलर पुर्याउने घोषण गरिएको हो । प्रदेश सरकारले प्रत्येक वर्ष ८ प्रतिशतका दरले प्रदेशको वार्षिक आय बृद्धी गर्ने दाबी पनि गरेको छ ।

प्रदेशभित्रै औद्योगिक क्षेत्रको विकास गरी रोजगारी सिर्जना गर्ने र पाँच वर्षभित्र गरिबी ७ प्रतिशतमा झार्ने महत्वकांक्षी योजना सरकारले ल्याएको हो । यस्तै कृषि उत्पादनलाई दोब्बर बनाउने पनि घोषणा गरिएको छ । प्रदेश प्रमुख बाबुराम कुवँरले प्रदेशसभामा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । नीति कार्यक्रममा आउँदो वर्ष भौतिक पूर्वाधारलाई जोड दिने तय गरिएको छ ।  

यस्तै कोरलादेखि पोखरा र पोखरादेखि सुस्तासम्मको दु्रतमार्ग निर्माणको योजना पनि प्राथमिकतामा परेको छ । प्रदेशभित्र बहुउपयोगी सम्मेलन केन्द्र, अन्तर्राष्ट्रिय खेलमैदान बनाउनुका साथै बिशिष्टिकृत मुटुरोग, मृगौला र क्यान्सर अस्पतालको निर्माण गर्ने घोषणा पनि गरिएको छ । 

स्थानीय तहमा २५ शैयाको अस्पताल बनाउने, नगरपालिकामा ५० र प्रदेश राजधानीमा एक हजार शैयाको अस्पताल निर्माणको थालनी गर्ने पनि नीति कार्यक्रममा समेटिएको छ ।  

पोखरालाई केन्द्रमा राखी बृहत पोखरा चक्रपथ निर्माण, पोखरा विमानस्थललाई ३ बर्षभित्र निर्माण सम्पन्न गर्ने, सन् २०२२ सम्म २० लाख पर्यटक भित्र्याउने, पोखराका तालहरुलाई जोड्न मोनोरेल सञ्चालन गर्ने, प्रदेशको राजधानीदेखि स्थानीय तहका केन्द्रसम्म स्तरीय सडक सञ्जाल विस्तार गर्ने, उर्जा उत्पादन तेब्बर बनाउने, उर्जा खपतलाई पाँच गुणाले बढाउने लगायतका योजनालाई विशेष प्राथमिकताका साथ अघि सारिएको छ ।  
 

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया