सरसफाइ मानवीय आवश्यकता हो, यो काम सबैले सिक्नुपर्छ : उपप्रधानमन्त्री श्रेष्ठ

 असार १९, २०८० मंगलबार १९:३:१३ | विमल बिष्ट
unn.prixa.net

काठमाण्डाै – उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरसफाइ सबैका लागि आवश्यक विषय हो भन्दै सरसफाइ गर्ने व्यक्ति कहिल्यै सानो नहुने बताउनुभएको छ ।

गृह मन्त्रालयले आयोजना गरेको आधारभूत सरसफाइ तथा स्वच्छतासम्बन्धी दश दिने तालिमको समापन कार्यक्रमलाई मङ्गलवार सम्बोधन गर्दै मन्त्री श्रेष्ठले सरसफाइ मानवीय जीवनको महत्त्वपूर्ण काम भएकाले सबैले यो काम सिक्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘सरसफाइ गर्ने मानिस साना हुन्छन् या सानाले मात्रै सरसफाइको काम गर्नुपर्छ भन्ने हुँदैन, यो गलत सोच हो ।’ नेपाली समाजमा सरसफाइकर्मीलाई हेर्ने दृष्टिकोण गलत रहेको र यसलाई परिवर्तन गर्नुपर्ने उहाँको भनाइ थियो । 

मन्त्री श्रेष्ठले सरसफाइको काम सबैले सिक्नुपर्ने भन्दै मन्त्रालयमा आयोजित सरसफाइसम्बन्धी तालिममा आफू पनि सहभागी हुने इच्छा रहेको भए पनि कार्यव्यस्तताका कारण सहभागी हुन नसकेको बताउनुभयाे । उहाँले हरेक व्यक्तिले धेरै/थोरै जति भए पनि शारीरिक श्रम गर्न सुझाव दिनुभयो ।

कुनै पनि काम सानो या ठूलो नहुने भन्दै मन्त्री श्रेष्ठले सरसफाइकर्मीले आफैँले आफू सानो मान्छे हुँ भन्ने सोच पनि राख्न नहुने बताउनुभयो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ‘स्वच्छ नेपाल, स्वस्थ नेपाली’ अभियानलाई सरकारले नीति तथा कार्यक्रममा समेटी सरसफाइसम्बन्धी नीति निर्माण गरेको छ । त्यही नीतिबमोजिम अहिले सरकारी क्षेत्र निकायका सफाइकर्मीलाई तालिम प्रदान गर्न थालिएको छ । 

कार्यक्रममा प्रधानमन्त्रीका जनस्वास्थ्य तथा सरसफाइविज्ञ खेम शर्माले आफूले दश दिनसम्म तालिममा सिकेका कुराहरूलाई अक्षरशः व्यवहारमा लागू गरी आफू खटिएका कार्यालय तथा बस्ने ठाउँलाई सधैँ सफा राख्न तालिम लिएका सरसफाइकर्मीहरूलाई आग्रह गर्नुभयो ।

तालिम समापन कार्यक्रममा प्रधानमन्त्रीले पठाउनुभएको सरसफाइसम्बन्धी शुभकामना सन्देश पढेर सुनाइएको थियो । गृह मन्त्रालयद्वारा सञ्चालित यस तालिममा मन्त्रालयका ५६ जना सफाइकर्मीको सहभागिता थियो ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया