भूकम्पपछिको पुनर्निर्माण तीन वर्षमा ६६ प्रतिशत !

 कात्तिक ११, २०७५ आइतबार १९:१:३५ | शिव ढुंगाना
unn.prixa.net

प्रतिकात्मक तस्बिर

ओखलढुंगा – ओखलढुंगामा भूकम्पपछिको व्यक्तिगत आवास पुनर्निर्माण तीन वर्षमा ६६ प्रतिशत सम्पन्न भएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अन्र्तगतको जिल्ला आयोजना कार्यन्वयन इकाईका अनुसार घर निर्माण सम्पन्न गरेर अनुदान लैजाने भूकम्प पीडित ६६ प्रतिशत रहेका छन् । यसका आधारमा लाभग्राहीमा सूचीकृत भई अनुदान सम्झौता गरेका १९ हजार ४ सय २१ भूकम्प पीडितहरु मध्ये १४ हजारले घर निर्माण सम्पन्न गरेर तेस्रो किस्ता लिएका छन् । १७ हजार ५ सयले दोस्रो किस्ता लिएका छन् ।

तथ्यांकका आधारमा अनुदान सम्झौता भएकामध्ये ६६ प्रतिशत घर निर्माण सम्पन्न भएका हुन् । त्यस्तै अनुदान पाउने सूचीमा नपरेका भूकम्प पीडितहरुका घर सर्वेक्षणका आधारमा २ हजार ८ सय घर प्रवलिकरण गर्ने नतिजा प्राधिकरणले जिल्ला पठाएको छ ।

पुनः सर्वेक्षणको माग गरेका झण्डै १५ हजारका निवेदन अझै सुनुवाइ भएका छैनन् । प्राविधिक खटाएर तत्काल सर्वेक्षण गर्न स्थानीय सरकारका प्रमुखहरुले माग गरेका छन् । जिल्लास्थित सरोकारवालाहरुसँगको अन्तरक्रियामा गाउँपालिकाका अध्यक्षहरुले पुनर्निर्माणका कर्मचारीको लापरबाहीका कारण पीडितले दुःख पाइरहेको आरोप लगाए ।

‘दुई–तीन पटक घर भत्केका पीडितले गुनासा गरे पनि नाम नआउने कसको कमजारी हो’, सुनकोसी गाउँपालिकाका प्रमुख रुद्र अधिकारीले आक्रोश पोख्नुभयो ।
दुई चरणमा भरिएका गुनासा मात्र होइन, सम्झौता गरेका पीडितले समेत तथ्यांकका तलमाथि हुँदा अनुदानको किस्ता लिन सकिरहेका छैनन् ।

यस्ता समस्या प्राविधिकरण जिम्मेवार नहुँदा आएको चिसंखुगढी गाउँपालिकाका अध्यक्ष निशान्त शर्माले बताउनुभयो । जिल्लाका आठ वटै स्थानीय तहका प्रमुख तथा प्रशासकीय अधिकृत सहभागी भेलाले प्राधिकरणले गर्ने काम चुस्त दुरुस्त र जिम्मेवारीका साथ हुनु पर्नेमा जोड दिएका छन् । 

अन्तिम अपडेट: फागुन २८, २०८०

शिव ढुंगाना

शिव ढुंगाना ओखलढुंगाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया