अष्ट्रेलियामा राहदानी नवीकरणको माग बढ्दो, कर्मचारी अभावले दूतावासलाई सेवा प्रवाहमा हम्मे हम्मे

 साउन ४, २०८० बिहिबार १८:१३:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – कर्मचारी अभावले माग अनुसार अष्ट्रेलियामा रहेका नेपालीहरूलाई राहदानी सेवा प्रदान गर्न समस्या भएको त्यहाँ रहेको नेपाली दूतावासले जनाएको छ ।

दैनिक दुई सय जनाले राहदानी नवीकरणको माग भए पनि दुई वटा कम्प्युटरमा दुई जना कर्मचारीले दैनिक ६० देखि ७० जनालाई मात्र सेवा दिन सकिएको अष्ट्रेलियाका लागि नेपाली राजदूत कैलाश राज पोखरेलले बताउनुभएको छ ।

यसबाहेक राहदानी हराएर, म्याद सकिएर वा बिग्रिएर आउनेहरूका लागि दूतावासले तत्काल सेवा दिने गरेको छ ।

राहदानी नवीकरणको माग अत्यधिक भएपछि दूतावासमा उपलब्ध जनशक्तिले नभ्याउने भएपछि थप घुम्ती टोलीको समेत माग गरिएको राजदूत पोखरेलले बताउनुभयो ।

विद्युतीय राहदानीको आवेदन अनलाइनबाटै दिने भए पनि बायोमेट्रिक र फोटो खिच्न कार्यालयमै उपस्थित हुन पर्छ । 

दूतावासका अनुसार दैनिक दूतावासमा दुई सयभन्दा बढी फोनहरू आउने गरेको छ । जसमध्ये कर्मचारीले दैनिक झण्डै ५० जना जतिको मात्र फोन उठाउन सकिएको र दैनिक आउने एक सय हाराहारी इमेल भने कर्मचारीले बिहान बेलुका अफिस बाहेकको समयमा जवाफ दिने गरेको राजदूत पोखरेलले बताउनुभएको छ । 

आफू अष्ट्रेलियाका लागि राजदूत भएर गएको एक वर्षमा गरेका कामहरूको स्मरण गर्दै उहाँले भन्नुभएको छ ‘सन् २००७ मा अष्ट्रेलियामा नेपाली दूतावास खुल्दा नेपालीहरूको सङ्ख्या पाँच सात हजार थियो तर अहिले सन् २०२३ मा आइपुग्दा एक लाख २२ हजारभन्दा धेरै भएको छ तर दूतावासमा भने उही पाँच हजार नेपालीलाई सेवा दिने कर्मचारीहरूले ठूलो सङ्ख्यामा रहेका नेपालीलाई सेवा दिइरहनुभएको छ ।’ दूतावासमा अहिले राजदूतसहित चार जना कर्मचारी कार्यरत रहेका छन् ।

यही कर्मचारीले नै इमेल हेर्नेदेखि फोन उठाउने र राहदानीको काम पनि गर्ने भएकाले राहदानी सम्बन्धी सामान्य जानकारीका लागि दूतावासमा फोन नगर्न र दूतावासको वेबसाइटमा उपलब्ध सूचनाहरू राम्रोसँग पढ्न दूतावासले अनुरोध गरेको छ ।

यस्तै पछिल्लो समय अष्ट्रेलियामा नेपालीहरूको सङ्ख्या दिनहुँ बढिरहेको भन्दै दूतावासले दीर्घकालीन रूपमा नै कर्मचारी थप गर्न र बायोमेट्रिक लिनका लागि अष्ट्रेलिया र न्युजिल्याण्डका विभिन्न राज्यहरूबाट नै सेवा प्रदान गर्ने गरी सेवा विकेन्द्रित गर्न माग गरेको छ ।

गएको वर्ष अष्ट्रेलियामा रहेको नेपाली दूतावासबाट ९ हजार २३५ वटा राहदानीको प्रक्रिया भएको छ ।

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया