म्यानमारमा ठगिनेहरुका आफन्तको रोदन : ‘पैसा नदिए घर फर्किन पाउँदैनस् भन्छन्, ठग्न सकेन भनेर यातना दिन्छन्’

 साउन ४, २०८० बिहिबार १९:०:५३ | बेदानन्द जाेशी
unn.prixa.net

काठमाण्डौ – काभ्रेका विक्रम तामाङ (नाम परिवर्तन) बुधबार मानव बेचबिखन तथा अनुसन्धान ब्युरोमा पुग्नुभएको थियो । चिनियाँ आपराधिक समूहले म्यानमारमा बन्धक बनाइराखेका आफ्नो भाइलाई कसरी उद्धार गर्न सकिन्छ भनेर बुझ्न उहाँ काठमाण्डौको बबरमहलमा रहेको ब्युरोमा पुग्नुभएको हो । 

उहाँको भाइ म्यानमार गएको झण्डै एक वर्ष भयो । त्यहाँ जानुभन्दा पहिले काठमाण्डौमा एनसेलको कम्पनीको कल सेन्टरमा काम गरिरहेका थिए । त्यहीबेला उनले चिनियाँ कम्पनीमा काम गर्ने अवसर छ भन्नेबारे साथीभाइबाट सुन्नुभयाे । कल सेन्टरकै काममा थाइल्याण्ड जान पाइने र लाखौँ रुपैयाँ कमाइ हुने भनेपछि उहाँले चिनियाँ टोलीलाई डेढ लाख रुपैयाँ बुझाए । विक्रमका अनुसार उहाँको भाइसँगै दश जनाको टोलीले पैसा बुझाएको थियो । पर्यटन भिसामा थाइल्याण्ड गएका उनीहरुलाई त्यहाँबाट बसमा राखेर म्यानमार पुर्याइयो । त्यहाँ लगेर सिधै एक ठूलो अपार्टमेन्टमा राखियो । काम गर्ने लगायत खान बस्न सबै व्यवस्था अपार्टमेनटमै थियो । तर त्यहाँ उनीहरुलाई कल सेन्टरको काम भनेर अरुलाई ठग्ने काम अर्थात् ‘अनलाइन स्क्यामिङ’मा लगाइयो । 

कतिपयलाई त सुरुसुरुमा आफू ठगी कार्यमा लागेको छु भन्ने नै थाहा भएन । काम गर्दै जाँदा महिनादिन बितेपछि आफूहरुलाई अनलाइन ठगी गर्ने धन्दामा काम लगाइएको थाहा पाउन थाले । तर काम चलिरह्यो, कमाइ पनि भइरह्यो । सुरुमा समस्या भएन । चार पाँच महिनासम्म त नियमित तलब पनि आयो । महिनाको एक लाख रुपैयाँ । तर पछि आधा तलब दिन थालियो । तर बिस्तारै चिनियाँ टोलीले नेपाली युवालाई श्रम शोषण गर्ने र यातना दिन थाले । विक्रमले आफ्नो भाइसँग कुरा गर्दा थाहा पाएअनुसार दिनमा १८ घण्टाभन्दा बढी काममा लगाउँछन् । कसैले अनलाइन स्क्यामिङ गर्न नसके तलब रोकिदने, गाली गर्ने, करेन्ट लगाउने सम्म गर्छन् । 

‘१८ घण्टा काम गराउँछ रे । थकाइ लाग्यो भन्दा पनि गाली गर्ने रिसाउने गर्छन् रे’ विक्रम भन्नुहुन्छ, ‘काम गर्न सक्दैन भने पनि करेन्ट लगाउँछन् रे ।’

यसरी काम गर्न जानेहरुसँग एक वर्षको सम्झौता गरेकाले बीचमा कोही फर्किन सकेनन् । सम्झौता सकिनासाथ घर फर्किन्छु भनेर बसेका थिए । तर सम्झौता गरेअनुसार एक वर्ष बितेपछि पनि चिनियाँ टोलीले घर पर्किन दिएको छैन । पैसा बुझाएर मात्र घर फर्किन पाउने भनिरहेका छन् चिनियाँले । घर जानको लागि १०/१२ लाख रुपैयाँ माग्ने गरेको बताउनुहुन्छ पीडितका दाइ विक्रम । 
‘दश  लाख रुपैयाँ तिरे मात्रै नेपाल जान पाउँछौ भन्छन् भन्दै थियो भाइले, हामीसँग त त्यत्रो पैसा पनि छैन अब कसरी फर्काउने’, विक्रम भन्नुहुन्छ, ‘एक त भाइलाई पाँच महिनाभन्दा बढीको पैसा दिएको छैन, त्यसैमाथि यत्रो पैसा मागिराछन्, अब हामीले कहाँबाट ल्याउने पैसा ?’

ब्युरोले उद्धार गरिदिन्छ की भन्ने आशामा विक्रम जस्तै सिन्धुपाल्चोककी विपना दुलाल (नाम परिवर्तन) पनि ब्युरो पुग्नुभएको छ । उहाँ पनि म्यानमारमा चिनियाँको यातना भोगिरहेका आफ्ना श्रीमानलाई फर्काइपाउँ भन्दै ब्युरो पुग्नुभएको हो । गएको असोजमा घटस्थापनाको ठिक अघिल्लो दिन थाइल्याण्ड जाने भनेर त्रिभुवन विमानस्थलबाट उडेका उहाँका श्रीमान पनि अहिले म्यानमारमा चिनियाँहरुको बन्धनमा छन् । 

उहाँका श्रीमानलाई त्यहाँ गएर कम्प्युटर चलाउने, आइडी कार्डहरु बनाउने भनेर लगेको थियो । उहाँले भने ढाई लाख रुपैयाँ बुझाएर श्रीमानलाई पठाउनुभएको थियो । अरुलाई झैँ उहाँका श्रीमानलाई पनि अनलाइन स्क्यामिङमै लगायो । सुरुका चारपाँच महिना तलब दिए पनि त्यसपछि तलब दिन छाडेको छ । तीनचार महिना भइसक्यो काम पनि दिएको छैन, तलब पनि दिएको छैन । एउटा काम भनेर ल्याएको अर्को काममा लगाएको भन्दै आवाज उठाएपछि मोबाइल थुतेर एउटा कोठामा थुनेर राखेको छ । नेपाल जान्छु भन्दा १२ हजार डलरको माग गरिरहेका छन् ।

‘नेपाल जान्छु भन्दा मैले तिमीहरुलाई किनेर ल्याएको हो । १२ हजार डलर देउ अनि मात्र जान पाउँछौँ नत्र जान पाउँदैनौ भन्छ’ धन कमाउने सपना देखेर श्रीमानलाई पठाउनुभएकी विपना अहिले पुर्पुरोमा हात लगाउँदै पछुताउनुहुन्छ, ‘कम्प्युटर चलाउने हो । धेरै अंग्रेजी पनि जान्नुपर्दैन थाइलेण्डमा काम गर्ने हो, महिनाको हजार डलर कमाइ हुन्छ भन्नुभएको थियो । त्यसैले पठाएको थिएँ ।’

पछिल्लो एक महिनादेखि त विपनाले आफ्ना श्रीमानसँग पनि फोन गर्न पाउनुभएको छैन । श्रीमानको साथमा मोबाइल छैन, चिनियाँले खोसिदिएको छ । त्यहाँ गएका आफ्ना चिनजानका अरुहरुसँग सम्पर्क गरेर कुरा बुझ्नुहुन्छ । श्रीमानको बारेमा उनीहरुबाटै जानकारी लिनुहुन्छ । 

‘एकदमै जंगलको बीचमा बसाइ छ रे । लोकेशन पनि ट्रेस गर्न सकिदैन भन्छन्’, उद्धार शाखाको बाहिर निराश मुद्रामा भेटिनुभएकी विपनाले भन्नुभयो, ‘यो ३० तारिखसम्म पैसा नतिरे अर्को क्याम्पमा सारिदिन्छौँ भनेको छ भनेर धेरै आत्तिरहनुभएको छ ।’ 

चिनियाँहरुले कहिले इन्भेस्ट गर्न सकेन भनेर यातना दिन्छन्, ठग्न सकेन भनेर पनि यातना दिन्छन् । करेन्ट लगाउने गाली गर्ने त सामान्य जस्तै छ । विपना भन्नहुन्छ, ‘केटीहरुलाई शारीरिक यातना पनि दिएको छ । यसरी यातना दिन थालेको लगभग दुईतीन महिना भइसक्यो रे ।’ 

विक्रम र विपना जस्तै म्यानमारमा ठगीमा परेका आफन्तको उद्धार तथा पीडकविरुद्ध उजुरी दिनको लागि ब्युरो पुग्नेहरु दिनदिनै बढीरहेका छन् । 

गएको हप्ता मात्रै ६ जना नेपाली युवाले चिनियाँ समूहलाई १० हजार डलर बुझाएर म्यानमारबाट नेपाल फर्केका थिए । उनीहरुले पीडकविरुद्ध ब्युरोमा जाहेरी पनि दिएका छन् । 

अहिलेसम्म तीनचारवटा जाहेरी परेको र १५ वटा जति उद्धारको लागि निवेदन परिसकेको ब्युरोका प्रवक्ता एसपी कृष्णप्रसाद पगेनीले बताउनुभयो । पीडितले दिएको उजुरीको आधारमा ब्युरोबाट खटिएको प्रहरी टोलीले एक जना चिनियाँ नागरिकलाई पक्राउ पनि गरिसकेको छ । चिनियाँ नागरिक ४२ वर्षीय जोहन्सन नाम बताउने लियाङ जुलाई असार २७ गते प्रहरीले पक्राउ गरेको हो ।

नेपालीहरुलाई थाइल्याण्डमा कम्प्युटर टाइपिङको काममा लाने भन्दै म्यान्मार पुर्याइ अनलाइन स्क्यामिङमा लगाउने टोलीको एक सदस्य लियाङ पनि भएको ब्युरोले जनाएको छ । लियाङ सन् २०१८ देखि नेपाल आउने जाने गर्दै भिजिट, स्टुडेन्ट र बिज्नेस भिसामा नेपालमा बसोवास गरी विभिन्न व्यवसायमा लगानी गरेको खुलेको छ । यस्तै उनी लगायत गिरोहले नेपालबाट रोजगारीमा थाइल्याण्ड लैजाने भनि नेपाली नागरिकहरुलाई म्यान्मार पठाउने गरेको, म्यान्मार पुगेपछि राहदानी र मोबाईल जफत गर्ने, बन्धक बनाउने र सामाजिक सञ्जालमार्फत दिनको १८ देखि २० घण्टासम्म अनलाइनको काममा लगाउने गरेका थिए । उनले अनलाइन स्क्यामिङमार्फत विशेषगरी अमेरिकी नागरिकहरुलाई फेक आइडीमार्फत कुराकानी गर्न लगाइ क्रिप्टोकरेन्सी, बिट कोइन लगायतमा लगानी गर्न लगाई ठगी गर्ने गरेको, काम गर्न नसकी फिर्ता हुन्छु भन्नेलाई रकम माग गर्ने गरेको प्रहरीको भनाइ छ । 

उनीमाथि अहिले अनुसन्धान भइरहेको छ । यस्तै म्यानमारबाट फर्केकाको उजुरीकै आधारमा एक नेपाली महिलालाई पनि प्रहरीले पक्राउ गरेको छ । चिनियाँ भाषा अनुवादकको रुपमा आफै म्यानमार पुगेर नेपाल फर्केकी ती महिलालाई म्यानमारबाट फर्केका पीडितको उजुरीको आधारमा प्रहरीले पक्राउ गरेको हो । तर उनको प्रत्यक्ष संलग्नता छ, छैन या उनी आफै पीडित हुन् भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । 

मानव बेचबिखनकै ठूलो घटना : ब्युरो

चिनियाँले चिनियाँ भाषा जान्ने नेपाली नागरिकलाई प्रयोग गरेर नेपालीलाई नै ठग्ने गरेको ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) कृष्णप्रसाद पगेनी बताउनुहुन्छ । शुरुमा एक जनालाई बोलाउने आफू उम्किने त्योबाट अरु दुईचार जनालाई बोलाउने गर्दै यो पिरामिड शैलीमा ठगिने क्रम देखिएको उहाँको भनाइ छ । 

उहाँका अनुसार नेपालबाट पर्यटन भिसामा थाइलेण्ड जाने र त्यहाँबाट उनीहरुको अनुकूल पर्ने गरी थाइल्याण्ड, लाओस्, म्यानमार आदि देशमा अनलाइन स्क्यामिङ गर्नको लागि खोलिएका घरहरुमा पुर्याइन्छ । एसपी पगेनीका अनुसार त्यहाँ हजारभन्दा बढी नेपालीहरु अनलाइन स्क्यामिङमा लगाउने गरेका छन् ।

यस्तै, यसरी म्यानमार तथा थाइल्याण्डमा चिनियाँ टोलीले नेपालीहरुलाई बन्धक बनाएको विषयलाई ब्युरोले मानव बेचबिखनकै ठूलो घटना भएको बताएको छ ।

‘यो मानव तस्करी भन्दा पनि मानव बेचबिखनकै डरलाग्दो रुप देखिएको छ’, एसपी कृष्णप्रसाद पगेनी भन्नुहुन्छ, ‘काम गर्न नसक्ने, नजान्नेहरुलाई टर्चर दिने, करेन्ट लगाने जस्ता घटनाहरु पनि भएको भनेर हामीलाई जाहेरी परेका छन् ।’

नेपाली युवाहरुमा छोटो समयमा धेरै पैसा कमाउने प्रलोभनको कारण यस्तो ठगीका घटना हुने गरेको उहाँको भनाइ छ । यसरी नेपालीहरुलाई विभिन्न देशमा पुर्याइ मानव तस्करीमा चिनियाँ नागरिक सक्रिय भएको एसपी पगेनी बताउनुहुन्छ ।

‘यो भन्दा पहिले पनि  दुई जना चिनियाँहरु यस्तै मुददामा पक्राउ गरेर पुर्पक्षको लागि थुनामा रहेको अवस्था छ । करिब एकडेढ महिना अगाडि पनि दुई जना नेपालीलाई पक्राउ गरेर अदालतमा पेस गरेको अवस्था छ’, उहाँले भन्नुभयो, ‘अहिले फेरि दुईवटा मुद्दा दर्ता भइसकेको र अन्य थुप्रै जाहेरी पर्ने क्रममा रहेको छ ।’

'उद्धार गर्न कठिन'

चिनियाँ आपराधिक समूहले म्यानमारको सुरक्षा व्यवस्थाको फाइदा उठाउँदै ठगी कार्यमा लागेका छन् । म्यानमारमा अहिले सैनिक शासन लागू छ । त्यहाँका ग्रामीण क्षेत्रमा विद्रोही समूहको संगठनहरु व्याप्त छन् । उनीहरुबाटको सम्भावित असुरक्षाका कारण पनि त्यहाँ उद्धारको लागि टोली पुग्न सक्ने अवस्था छैन । पीडितका परिवारले पनि दूतावासमा सम्पर्क गर्दा त्यहाँका कर्मचारीबाट यस्तै प्रतिक्रिया पाएको बताएका छन् । अनुसन्धान ब्युरोका प्रवक्ता एसपी पगेनी पनि तत्कालै उद्धार गर्न सजिलो नभएको बताउनुहुन्छ ।

‘उद्धार गर्न सजिलो छैन । सोझै पहुँच छैन । विद्रोही समूहको क्षेत्रमा रहेको पनि सुनिन्छ’, पगेनीले भन्नुभयो, ‘हामीले दूतावासमा समन्वय गर्ने प्रयास पनि गरिरहेका छौँ । त्यसैले उद्धारमा अप्ठेरो भइरहेको छ ।’
 

अन्तिम अपडेट: बैशाख १५, २०८१

बेदानन्द जाेशी

उज्यालाेमा कार्यरत बेदानन्द जाेशी वैदेशिक रोजगारी र समसामयिक विषयमा कलम चलाउनुहुन्छ। 

तपाईको प्रतिक्रिया