एकीकृत समाजवादीका रामेछाप अध्यक्षसहितका नेता एमालेमै फर्किए

 साउन ७, २०८० आइतबार १९:०:५३ | दीपक भट्ट
unn.prixa.net

रामेछाप – नेकपा एकीकृत समाजवादी रामेछापका जिल्ला अध्यक्ष रमेशकुमार बस्नेत पुनः नेकपा एमालेमै फर्किनुभएकाे छ ।

नेकपा एमाले रामेछापले आइतवार नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४५ औँ स्मृति दिवसको अवसरमा गरेको एक कार्यक्रमका बीच बस्नेतसहितका नेता एमालेमै फर्किनुभएकाे हाे । बस्नेतलाई एमाले महासचिव शंकर पोखरेल पार्टी प्रवेश गराउनुभयाे । बस्नेत मन्थली नगरपालिकाका निवर्तमान मेयर तथा जिल्ला विकास समिति रामेछापका पूर्वसभापति र उपसभापतिसमेत हुनुहुन्छ ।

नेकपा एकीकृत समाजवादीले राम्रो गर्ला कि भनेर उता लागेको तर पार्टीका अध्यक्ष माधव नेपालले नेपाली कांग्रेसको पछि लाग्नुबाहेक अरू केही गर्न नसकेको र एमालेलाई नै समाप्त गर्न लागिपरेकाले आफू एमालेमै फर्किएको बस्नेतकाे भनाइ छ । उहाँले आफू एमालेमा कुनै भाग लिन नभई पार्टीको सेवा गर्न फर्किएकाे जिकिर गर्नुभयाे । 

कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी रामेछापका उपाध्यक्ष केशव दाहालसहितका नेता कार्यकर्ता पनि एमाले प्रवेश गरेका छन् ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

दीपक भट्ट

दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया