जबरजस्ती करणी गरेको आरोपमा श्रीमान विरुद्ध उजुरी

 कात्तिक १२, २०७५ सोमबार १९:१:३३ | दुर्गा उपाध्याय
unn.prixa.net

प्रतिकात्मक तस्बिर

कञ्चनपुर – कञ्चनपुरमा एक महिलाले श्रीमानविरुद्ध जबरजस्ती करणी मुद्दा दिएकी छन् ।

भीमदत्त नगरपालिका–२, भाँसिकी रामकुमारी जोशी (नाम परिवर्तन)ले श्रीमान श्याम कुमार (नाम परिवर्तन) जोशीविरुद्ध मुद्दा दिएकी हुन् । श्रीमानले आफ्नो इच्छा विपरित शारीरिक सम्बन्ध राखेको भन्दै जोशीले सोमबार आफ्नै श्रीमान विरुद्ध उजुरी दिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक प्रकाश सिंह कार्कीले बताउनुभयो ।

रामकुमारीले श्रीमानले ३ महिनाको गर्भपतन गराएर आफूमाथी जबरजस्ती करणी गरेको उजुरी दिएको प्रहरीको भनाई छ । श्रीमतीले उजुरी दिएपछि प्रहरीले अहिले श्रीमानलाई नियन्त्रणमा लिएको छ । घटनाको अनुसन्धानका लागि आदालतबाट पाँच दिनको म्याद थप गरिएको प्रहरी निरीक्षक कार्कीले बताउनुभयो ।

जोशीले महाकाली अञ्चल अस्पतालमा एक हप्ताअघि गर्भपतन गराएको प्रहरीले जनाएको छ । कार्कीका अनुसार रामकुमारी र श्याम कुमारले डेढ वर्षअघि भागी विवाह गरेका थिए ।

भदौ १ गतेदेखि लागू भएको मुलुकी अपराध संहिताको परिच्छेद १८ करणी सम्बन्धी कसुरको (४) उपदफा (३) मा वैवाहिक सम्बन्ध कायम गरेको अवस्थामा पतिले पत्नीलाई जबरजस्ती करणी गरे पाँच वर्ष कैदको व्यवस्था गरिएको छ ।
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

दुर्गा उपाध्याय

दुर्गा उपाध्याय कञ्चनपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया