युराेपेली देशकाे राेजगारीकाे बहानामा ठगी बढ्दै, कसैकाे प्रलाेभनमा नपर्न मन्त्रालयकाे आग्रह

 साउन १३, २०८० शनिबार ६:४३:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले युरोपेली श्रम गन्तव्य देशमा जान असम्बन्धित व्यक्ति वा संस्थाको अनुचित प्रभावमा नपर्न सुझाव दिएको छ ।

मन्त्रालयले हिजाे प्रेस विज्ञप्तिमार्फत आकर्षक सेवा, सुविधाको प्रलोभन देखाई माल्टा, रोमानिया, पोल्याण्ड, पोर्चुगललगायतका युरोपियन श्रम गन्तव्य देशमा रोजगारी दिने बहानामा लाखौँ रुपैयाँ ठगी गरेको सम्बन्धमा सुक्ष्म अनुसन्धान गरिरहेको जानकारी दिँदै असम्बन्धित व्यक्ति वा संस्थाको अनुचित प्रभावमा नपर्न सुझाव दिएको हो ।

“असम्बन्धित व्यक्ति वा संस्थाको अनुचित प्रभावमा नपर्न मन्त्रालयको अनुरोध छ”, विज्ञप्तिमा उल्लेख छ, “दर्ता भएका इजाजत प्राप्त संस्थामार्फत वा उच्च दक्ष कामदारले व्यक्तिगतरुपमा वैदेशिक रोजगारीमा जाँदा अन्य कोही अनाधिकृत व्यक्ति वा संस्था एवं सञ्चारमाध्यम र सामाजिक सञ्जालमा प्रकाशन तथा प्रसारण गरेको सूचनाको आधारमा नभई कामदार स्वयंले वैदेशिक रोजगार विभाग वा सम्बन्धित सङ्घ तथा रोजगारदातासँग सिधा सम्पर्क र समन्वय गरेर मात्र वैदेशिक रोजगारीमा जानुहुन अनुरोध छ ।”

जारी विज्ञप्तिमा सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा ‘वैदेशिक रोजगारीमा ठगी’ विषयमा प्रकाशित तथा प्रशारित समाचारप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ ।

मन्त्रालयका सहायक प्रवक्ता डम्बरबहादुर सुनुवारले अनधिकृतरुपमा वैदेशिक रोजगारीको आवरणमा हुने सबै प्रकारका ठगीलाई निरुत्साहित गर्न सहयोग तथा सहकार्यका लागि अनुरोध गर्नुभएको छ ।

वैदेशिक रोजगारीमा जानका लागि नेपाल सरकारले खुला गरेको देशमा तीन प्रकारको कानूनी प्रकृयाबाट श्रम स्वीकृति प्रदान गरिन्छ । नेपाल सरकार र सम्बन्धित देशको सरकारबीच श्रम सम्झौता गरी, वैदेशिक रोजगार विभागमा दर्ता भई अद्यावधिक भएका वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न अनुमति प्राप्त इजाजतप्राप्त संस्था र तेस्रो व्यक्तिगतरुपमा श्रम स्वीकृति प्रदान गरिने प्रावधान रहेको छ ।

इजाजत प्राप्त संस्थामार्फत वैदेशिक रोजगारीमा जाँदा आफू जान चाहेको देश, कामको विवरण, तलब सेवा  सुविधा, आवश्यक सीप तालिम, रोजगारदाताले तोकेको सेवा शुल्क वा फ्रि भिषा फ्रि टिकटको बारेमा सम्बन्धित इजाजतप्राप्त संस्थामा स्वयं आफैँ उपस्थित भई वा वैदेशिक रोजगार विभागमा सम्पर्क गरी यकिन गर्न मन्त्रालयले अनुरोध गरेको छ । 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • कृष्ण प्रसाद तिमिल्सिना

    July 30, 2023, 10:33 p.m.

    नमस्कार ! म ठगीमा परे भनेर वैदेशिक रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा ईमेल गर्दा जवाफ आउदैन भने अरु के आश गर्नु ? सम्बन्धित रजिस्ट्रार मेनपावरले कमिसन दिने हुँदा अन्य ब्यक्तिगत रुपमा पठाउने बाट जोगिनुहोला भन्नू भनेको कमिसन पक्का गर्नु जस्तै त होला नि ! मैले बकाइदा मेनपावर नाम उल्लेख गरेरै म संग मैले बुझाएको रकमको दरिलो प्रमाण छ भनेर ईमेल गर्दा जवाफ आउन सकेन न त यहाँ आबुधाबी स्थित दूतावासले नै जवाफ दिन सक्यो उल्टो अर्कासंग ब्यालेन्स हाल्न पैसा मागेर कल गर्दा फोन नै उठाएनन भने यस्ता संग के को आशा !

  •  0 Reply

तपाईको प्रतिक्रिया