युवायुवतीमा मानसिक स्वास्थ्य समस्या बढ्दो

 कात्तिक १२, २०७५ मंगलबार ५:३१:४७ | रासस

काठमाडौं - युवायुवती तथा बालबालिकामा मानसिक स्वास्थ्य समस्या बढी देखिन थालेको छ । 

नेपालमा सात बालबालिकामध्ये एक तथा पाँच युवायुवतीमध्ये एकमा सो समस्या हुनसक्ने विश्व स्वास्थ्य सङ्गठनले प्रक्षेपण गरेको छ । तर “कुन उमेर समूहका बालबालिका तथा युवायुवतीमा मानसिक स्वास्थ्य समस्या छ” आधिकारिक रुपमा कुनै अध्ययन अनुसन्धान हालसम्म भएको छैन ।

मनोसामाजिक, आर्थिक, जैविक, वातावरणीय आदि कारणले व्यक्तिको भावना एवम् सोचाईमा आउने विचलनले गर्दा देखिने भावनात्मक, संवेगात्मक, समाजिक तथा व्यवहारिक परिवर्तनलाई मानसिक स्वास्थ्य समस्याका रुपमा सो सङ्गठनले परिभाषित गरेको छ । 

मानसिक स्वास्थ्य समस्याले असामान्य रुपमा व्यक्तिको भावना, सोचाई र व्यवहारिक परिवर्तन गराइदिन्छ । यसले गर्दा व्यक्तिको दैनिक क्रियाकलाप, व्यवहार र सम्बन्धमा समेत असर पुग्दछ । यस्तो समस्या जनुसुकै लिङ्ग तथा उमेर समूहलाई हुने मनोचिकित्सकले जनाएका छन् । 

स्वास्थ्य सेवा विभाग, मानसिक स्वास्थ्य शाखामा कार्यरत डा वासुदेव कार्कीले पछिल्लो समय युवायुवती तथा बालबालिकामा समेत मानसिक स्वास्थ्य समस्या बढी देखिन थालेको जानकारी दिनुभयो । 

पछिल्लो जनगणना अनुसार १६ देखि ४० वर्ष उमेर समूहमा यो समस्या ४० प्रतिशत रहेको पाइएको छ । ती समूहभित्रका करीब २२ लाख युवायुवती मानसिक स्वास्थ्य समस्याबाट प्रभावित हुनसक्ने प्रक्षेपण मन्त्रालयले गरेको छ । 

उहाँका अनुसार बाल्यकालमा नमीठा अनुभव, आघातजन्य घटना, लैङ्गिक तथा यौनजन्य हिंसा, समाजिक विभेद्, साथीहरुबाट खिसिट्युरी, आर्थिक विपन्नतालगायतका कारणले मानसिक स्वास्थ्य समस्या देखा पर्दछन् । 

“स–साना बोझ एवम् तनावलाई समयमै उचित ढङ्गले व्यवस्थापन गर्न नसक्दा भविष्य निर्माणमा जुट्न प्रयासरत् युवायुवतीमा मानसिक स्वास्थ्य समस्या बढिरहेको हो”, मन्त्रालयका प्रमुख विशेषज्ञ सुशीलनाथ प्याकुरेल बताउनुहुन्छ । 

यसैबीच संस्कृति, अध्यात्म तथा मानसिक स्वास्थ्यसम्बन्धी दुईदिने अन्तराष्ट्रिय सम्मेलन आजदेखि शुरु भएको छ । 

त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थान, नर्वेको आस्लो विश्वविद्यालय तथा क्यानडास्थित म्यागिल विश्वविद्यालयद्वारा संयुक्त रुपमा आयोजित सो सम्मेलनमा नेपाललगायत अमेरिका, टर्की, भारत, नर्वे एवम् क्यानडाका वरिष्ठ मनोरोग विज्ञको सहभागिता छ । 

सम्मेलनका क्रममा संस्कृति, अध्यात्म एवम् मानसिक स्वास्थ्यका विविध क्षेत्रमा कार्यपत्र प्रस्तुत गरी अनुभव आदानप्रदान गर्ने कार्यक्रम रहेको वरिष्ठ मनोरोग विज्ञ डा सरोजप्रसाद ओझाले जानकारी दिनुभयो । 

कार्यक्रममा त्रिविवि चिकित्सा शास्त्र अध्ययन संस्थानका डीन प्राडा जगदीश अग्रवालले मानसिक रोगीका सङ्ख्या बढिरहेको चर्चा गर्नुभयो । विश्व स्वास्थ्य सङ्गठनले विश्वमा हरेक ४० सेकेण्डमा एक जनाले मानसिक समस्याका कारण आत्महत्या गर्ने गरेको जनाएको छ । 

 

अन्तिम अपडेट: पुस १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया