प्रोत्साहन रकमले नियमित जाँच गर्ने सुत्केरीको संख्या बढ्यो

 कात्तिक १३, २०७५ मंगलबार ७:९:५७ | दुर्गा उपाध्याय
unn.prixa.net

कञ्चनपुर – कृष्णपुर नगरपालिकाले सुत्केरी पछि तीनपटकसम्म स्वास्थ्य जाँच गराउने महिलालाई प्रोत्साहन स्वरुप रकमको व्यवस्था गरेपछि अहिले नियमित स्वास्थ्य जाँच गराउने सुत्केरी आमाको संख्यामा वृद्धि भएको छ । 

सतप्रतिशत संस्थागत प्रसुति गराउने उद्देश्यका साथ नगरपालिकाले सुत्केरी पछि जाँच गराउने महिलालाई प्रोत्साहन स्वरुप रकमको व्यवस्था गरेपछि नियमित स्वास्थ्य जाँच गराउने सुत्केरी आमाको संख्यामा वृद्धि भएको हो । 

नगरपालिकाले प्रोत्साहन रकमको व्यवस्था गरेपछि अहिले सुत्केरी पछि नियमित स्वास्थ्य जाँच गराउने महिलाको संस्था बढेको स्वास्थ्य शाखाका प्रमुख गजेन्द्र विष्टले बताउनुभयो । 

कृष्णपुर नगरपालिका कार्यालयको स्वास्थ्य शाखाको तथ्याङ्क अनुसार गएको आर्थिक वर्षमा ५ सय ४९ जना महिला सुत्केरी भएकोमा ५२ जना महिलाले मात्रै सुत्केरी पछि नियमित स्वास्थ्य जाँच गराएका थिए । 

चालु आर्थिक वर्षको ३ महिनामा भने एक सय ९२ जना महिला सुत्केरी भएकोमा एक सय एक जना महिलाले सुत्केरी पछि नियमित स्वास्थ्य जाँच गराएका छन् । 

गर्भवती महिलाले सुत्केरी भएपछि विभिन्न कारण देखाउदै स्वास्थ्य संस्थामा जाँच नगराउने प्रवृति बढेपछि नगरपालिकाको कार्यपालिका बैठकले सुत्केरी भएको एकहप्ताभित्र गर्नु पर्ने स्वास्थ्य जाँच पूरा गर्ने महिलालाई प्रोत्साहन स्वरुप रकमको व्यवस्था गरेको थियो । 

नगरपालिकाले सुत्केरी भएपछि २४ घण्टा, ३ दिन र ७ दिनमा गराउनु पर्ने स्वास्थ्य जाँच नियमित रुपमा गर्ने महिलालाई प्रोत्सान स्वरुप ३ सय रुपैयाँ दिने व्यवस्था गरेको छ । 

नियमित स्वास्थ्य जाँच गराए वाफत प्रोत्साहन रकम पाइने भएपछि अहिले अधिकांश सुत्केरी महिलाले नियमित स्वास्थ्य जाँच गर्न थालेका छन् । 

गर्भवती महिलाहरुले सुत्केरी भएपछि नियमित रुपमा गराउनु पर्ने स्वास्थ्य जाँच नगराएका कारण आमा र बच्चाको ज्यान जाने खतरा बढ्न थालेपछि नगरपालिकाले नियमित रुपमा स्वास्थ्य जाँच गराउने महिलालाई प्रोत्सान स्वरुप ३ सय रुपैयाँ दिने व्यवस्था गरेको विष्टले बताउनुभयो ।  
 

अन्तिम अपडेट: चैत २३, २०८०

दुर्गा उपाध्याय

दुर्गा उपाध्याय कञ्चनपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया