वर्षाका कारण डाेटीका ग्रामीण सडक ठाउँठाउँमा अवरुद्ध

 साउन १५, २०८० सोमबार १६:४३:३९ | विमल बिष्ट
unn.prixa.net

डाेटी – केही दिनदेखिको अविरल वर्षाका कारण डाेटीका ग्रामीण सडकहरू ठाउँठाउँमा अवरुद्ध भएका छन् । सडक हिलाम्मे हुनाका साथै ठाउँठाउँमा पहिरो आएपछि गाडी सञ्चालनमा समेत अवरोध भएको छ ।

घोरेटो बाटोसमेत पहिराेले अवरुद्ध बनाएपछि एक गाउँबाट अर्को  गाउँ जानका लागि समस्या भएको स्थानीयवासी बताउँछन् । वर्षाका कपल्लेकी, गड्सेरा, मुड्भारा धुर्कोट, चवराचौतारा, नापानी, जोरायल गड्सेरा, वीपीनगर गड्सेरा सडक अवरुद्ध भएको जोरायल गाउँपालिका–५ का कर्ण बोगटीले बताउनुभयो । यहाँका ग्रामीण सडकहरूमा बर्खा शुरु हुनासाथ पहिरो खस्ने र गाडी सञ्चालनमा समस्या आउने गरेको छ । वर्षाैँ पहिले खनिएका ग्रामीण सडकहरूको स्तरोन्नतिका लागि पहल हुन नसक्दा बर्खामा समस्या हुने गरेको स्थानीयवासीको गुनासो छ । 

वर्षाका कारण ग्रामीण सडकहरूमा गाडी चल्न बन्द भएपछि गाउँमा दैनिक उपभोग्य वस्तु पाउन मुस्किल पर्न थालेको केआईसिंह गाउँपालिका–५ रानागाउँका सुरेन्द्र शाहीले गुनासाे गर्नुभयाे । वर्षाका कारण यहाँका ग्रामीण क्षेत्रका विभिन्न ठाउँमा पहिरो आउँदा गाडी चलाउनै नमिल्ने भएकाे शैलेश्वरी यातायातका प्रमुख प्रेम रावलले जानकारी दिनुभयो ।

वर्षाले सडकमा गाडी चल्न बन्द भएसँगै सदरमुकाम सिलगढीसँग यहाँका गाउँघरको सम्पर्कविच्छेद भएकाे जोरायल गाउँपालिका–५ गड्सेराकी दुर्गादेवी विष्ट बताउनुहुन्छ ।

गाउँगाउँमा सडक पुर्‍याउने होडबाजी चलेका कारण जथाभाबी खनिएका सडकमा वर्षाकाे समयमा समस्या उत्पन्न हुने गरेको छ । गाउँपालिका, वडा कार्यालय, जिल्ला समन्वय समिति र निर्वाचन पूर्वाधार क्षेत्र विकासको रकमले यहाँका ग्रामीण भेगका उपभोक्ता समितिमार्फत जथाभाबी सडक खन्ने गरे कारण समस्या आउने गरेकाे स्थानीयकाे आराेप छ ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया