पाँच दिनदेखि अवरुद्ध भीमदत्त राजमार्ग आंशिक रुपमा सञ्चालन

 साउन २७, २०८० शनिबार १४:४३:१६ | विमल बिष्ट
unn.prixa.net

डोटी – गएको सोमवार रातिको अविरल वर्षाका कारण भासिएको सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग आंशिक रुपमा सञ्चालनमा आएको छ ।

राजमार्गको बुढीतोलामा भासिएको सडक मर्मत भएपछि खाली ट्रक र ट्रिपर तराई झर्न शुरु भएको ट्राफिक प्रहरीले जनाएको छ ।

जमिन मुनि पानी भएकाले सडकसमेत हिलोे हुँदा हिलोमा अन्य यातायातका साधन फस्ने भएकाले सञ्चालन गर्न नदिइएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

अब वर्षा नभएको खण्डमा मात्र यातायात सञ्चालन गर्न सकिने बताएको छ । राजमार्गको भ्यागुते पानी, बुढी तोला लगायतका क्षेत्रका विभिन्न ठाउँमा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको थियो । 

पहिरोका कारण राजमार्ग पाँच दिनदेखि अवरुद्ध हुँदा यात्रुलाई निकै सास्ती भएको थियो ।

सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला जोड्ने राजमार्ग अवरुद्ध हुँदा पहाडी र तराईका जिल्लाको यातायात सम्पर्क टुटेको छ ।

दुईतर्फी गाडी सञ्चालन हुन नसकेपछि यात्रु पाँच दिनदेखि बीच बाटोमै अलपत्र परेका थिए ।

सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने एक मात्र भीमदत्त राजमार्गको चुरे क्षेत्रमा पहिरो गएपछि पहाडी जिल्ला सडक सम्पर्क विहीन भएका छन् ।

पहाडी जिल्ला जोड्न धनगढी–विपीनगर–दीपायल सडक, दैजी–जोगबुढा सडक, सेती लोकमार्ग, चिसापानी–जंगलघाटा–मंगलसेन सडक निर्माणको चरणमा छन्।

दैजी–जोगबुढा सडक प्रदेश सरकारको मातहतमा छ भने अरु सबै सडक सङ्घीय सरकारले निर्माण गर्दैछ ।

तर सबै सडकमा यातायात सञ्चालन गर्न सक्ने अवस्था भने छैन । 

भीमदत्त राजमार्गको चुरे पहाडमा पहिरो गएकाले धनगढी–विपीनगर–दीपायल वैकल्पिक सडक हो ।

धनगढी–दीपायल द्रुतमार्गको कैलाली खण्डमा ट्रयाक निर्माणको काम पूरा भएको छ । तर बर्खाका कारण यस सडक पनि पहिरोले अवरुद्ध गरेको छ ।

सङ्घीय सरकारले बजेट विनियोजन नगरेकाले गत आर्थिक वर्षमा सडक निर्माणको काम पूरा गर्न सकिएको थिएन ।

धनगढी–दीपायल द्रुतमार्ग सडक योजना कार्यालयका प्रमुख लक्ष्मण रावलले दु्रतमार्ग बर्खाको पानीले पहिरो जाँदा बन्द भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘पहिरोले बाटो अवरुद्ध छ । यातायात सञ्चालन गर्न सक्ने अवस्था छैन । सिवनगरसम्म जान सक्ने अवस्था छैन ।’

पहाडी जिल्ला अछाम, बाजुरा जोड्ने चिसापानी–जंगलघाट मंगलसेन सडक निर्माणको एक पुस्ता खाएको छ।

सेती लोकमार्ग निर्माणको विषयले पनि एक पुस्ता खाएको छ । तर प्रदेशका पहाडी जिल्लाका नागरिकको सहजताका लागि निर्माण थालिएका सडकको काम अझै अलपत्र छन् ।

सुदूरपश्चिमका पहाडी जिल्ला जोड्ने वैकल्पिक राजमार्ग नहुँदा प्रदेशवासी हैरान भएका छन् ।

सुदूरपश्चिमको सात पहाडी जिल्ला भीमदत्त राजमार्गबाहेक वैकल्पिक सडक मार्ग नहुँदा प्रदेशवासीलाई हैरानी हुने गरेको छ ।

धनगढी–विपीनगर–दीपायल सडक, दैजी–जोगबुढा सडक, सेती लोकमार्ग, जंगलघाट मंगलसेन सडक निर्माणमा बेवास्ता गरिँदा प्रदेशवासीले सास्ती झेल्नु परेको छ ।

भीमदत्त राजमार्गमा पहिरो जाँदा वैकल्पिक सडक प्रयोग गर्न सकिएको छैन ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया