संसद्को गतिरोध हटाउने प्रयास : आज पनि दलहरुको छलफल, भोलि राष्ट्रपतिको आह्वानमा बैठक

 भदौ ४, २०८० सोमबार ९:५०:४० | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डाै - संसद्को गतिरोध हटाउने विषयमा दलहरुबीच आज पनि छलफल हुँदैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा हिजो बसेको बैठकमा सहमति जुट्न नसकेपछि आज पनि बैठक बस्न लागेको हो ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनु पर्ने माग गर्दै निरन्तर संसद् अवरोध गरिरहेको छ । तर, सरकारले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले छानबिन गरेर टुङ्ग्याउने भन्दै प्रतिपक्षी दलको माग तत्काल पूरा गर्न नसकिने जनाउँदै आएको छ ।

सरकार र प्रतिपक्षी दलका आआफ्ना अडानका कारण साउन १० गतेदेखि संसद् बैठक अवरुद्ध हुँदै आएको छ । 

संसद्को गतिरोध हटाउन राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा पनि सर्वदलीय बैठक बस्दैछ । भोलि मङ्गलवार बिहान बस्ने बैठकमा संसदमा प्रतिनिधित्व गर्ने दलका नेताहरु उपस्थित हुँदैछन् । यसअघि राष्ट्रपति पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, विपक्षी दलका नेता केपी शर्मा ओली, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग संसद्को गतिरोध अन्त्यका लागि छलफल गर्नुभएको थियो । 

संसद्को गतिरोध अन्त्यका लागि प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेले पनि छुट्टाछुट्टै छलफल गर्दै आउनुभएको छ । दलहरुबीच सहमति नभएपछि हिजो बस्ने भनिएको प्रतिनिधि सभाको बैठक भोलिसम्मको लागि स्थगित गरिएको छ । 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया