एकीकृत समाजवादीले माघमा राष्ट्रिय महाधिवेशन गर्ने, नेपाल र भुसालको प्रतिवेदन परिमार्जनसहित पारित

 भदौ ८, २०८० शुक्रबार ७:१२:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय समिति बैठकले आउँदो माघ १४ देखि १८ गतेसम्म राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको छ ।

भदौ ५ गते शुरु भएर हिजो अबेर सकिएको बैठकले महाधिवेशन अगाडि नै युवा लक्षित कार्यक्रम सञ्चालन गर्ने पनि निर्णय गरेको छ । बैठकले यही भदौभित्र सबै जनवर्गीय सङ्गठनका अधिवेशन सम्पन्न गर्ने र आउँदाे असोजमा मेची महाकाली राष्ट्रिय अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।

बैठकमा अध्यक्ष माधवकुमार नेपालले प्रस्तुत गर्नुभएको राजनीतिक र महासचिव घनश्याम भुसालले पेस गर्नुभएको साङ्गठनिक प्रतिवेदन परिमार्जनसहित पारित गरिएको छ । ती प्रतिवेदनमा एक सय ३१ नेताले आ–आफ्नो धारणा राख्नुभएको पार्टीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।

अध्यक्ष नेपालको राजनीतिक प्रतिवेदनमा एमालेसँग अलग हुनुको औचित्य, अन्तर्राष्ट्रिय तथा भूराजनीतिक परिस्थिति, विद्यमान राजनीतिक अवस्थालगायत चर्चा गरिएको खतिवडाले बताउनुभयो । बैठकमा नेता झलनाथ खनालले राजनीतिक प्रतिवेदनमा असन्तुष्टि जनाउँदै फरक मतसहित जबजको चरण समाप्त भएको विचार व्यक्त गर्नुभयो ।

साथै बैठकले एमसीसी सम्झौताअनुसार कार्यान्वयन भए/नभएको अनुगमन गर्न उच्चस्तरीय संसदीय छानबिन समिति गठनको मागसमेत गरेको छ । सन् १९५० को सन्धिमा भएको असमान सम्झौता खारेज गरी नेपाल–भारत सम्बन्धलाई थप बलियो बनाउन सरकारलाई आग्रह गरेको प्रचार विभाग प्रमुख खतिवडाले बताउनुभयो ।

बैठकले रुस र युक्रेन युद्धले अन्तर्राष्ट्रिय जगतमा नकारात्मक असर पारेकाले त्यसको अन्तका लागि सम्बन्धित पक्षलाई आग्रह पनि गरेको छ ।   
 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया