जहाजकाे पर्खाइमा सुदूरपश्चिमका विमानस्थल

 भदौ १०, २०८० आइतबार २०:४१:२५ | विमल बिष्ट
unn.prixa.net

डाेटीकाे दिपायल विमानस्थल

डाेटी – सुदूरपश्चिका पहाडी जिल्लामा निर्माण गरिएका विमानस्थल जहाजको पर्खाइमा रहेका छन् । तत्कालीन विद्रोही पक्ष माओवादीकाे आक्रमणबाट ध्वस्त भएका विमानस्थल माओवादी शान्ति प्रक्रियामा आएको लामो समयसम्म गौचरन बनेका थिए । सुदूरपश्चिमका नागरिकको निरन्तरकाे दबाबपछि पक्की धावनमार्ग बनेर केही समय 'चार्टर्ड' उडान भएका विमानस्थलमा डोटीबाट निर्वाचित प्रेमबहादुर आले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बनेपछि पनि केही महिना नियमित उडान भएका थिए ।

समिट एअरलाइन्स र नेपाल वायु सेवा निगमले यहाँको प्रदेश राजधानी कैलालीको धनगढीबाट डोटीको दिपायल, अछामको साँफेबगर, बझाङको देवल र बैतडीको पाटन विमानस्थलमा उडान भर्दै आएका थिए । आले मन्त्रीबाट बाहिरिएसँगै समिट एअरलाइन्सले यात्रु अभाव र नेपाल वायु सेवा निगमले जहाज अभाव भन्दै उडान रोकेपछि सुदूरपश्चिमेली पुनः बसको कष्टकर यात्रा गर्न बाध्य भएका छन् । अहिले यहाँका विमानस्थलमा जहाज उड्नुको साटो चरा उड्न थालेका छन् ।

दिपायल विमानस्थल डाेटी

डोटीको दिपायल विमानस्थल २०२६ सालमा स्थापना भई पटक–पटक सञ्चालनमा आउँदै बन्द हुँदै गरेको छ । माओवादीकाे आक्रमणबाटै २०५८ सालदेखि पूर्णरूपमा बन्द रहेको यो विमानस्थल गौचरन र खेल मैदानमा परिणत भएको थियो । २०७३ सालमा नागरिक उड्डयन प्राधिकरणले विमानस्थलको स्तरोन्नतिको काम अगाडि बढाएको थियो । छ करोड ८० लाख रुपैयाँको लागतमा चार सय ९० मिटर लम्बाइकाे धावनमार्गसहित कालोपत्र भएको यो विमानस्थल २०७७ सालमा पुनः सञ्चालनमा आएको थियो । आले पर्यटनमन्त्री बनेपछि केही महिना नियमित उडान भएको यो विमानस्थलमा जहाज आउन अहिले पुनः बन्द भएको छ ।

साँफेबगर विमानस्थल अछाम

२०२४ सालमा निर्माण शुरु भएको साँफेबगर विमानस्थल २०३२ सालदेखि सञ्चालनमा आएको थियो । २०४४ सालदेखि २०५८ सालसम्म साँफेबगर विमानस्थल निरन्तर सञ्चालनमा आए पनि २०५८ फाल्गुनमा माओवादीकाे आक्रमणबाट ध्वस्त भएसँगै पुनः बन्द भयो । ११ करोड ५० लाख रुपैयाँको लागतमा पाँच सय मिटर लम्बाइ र २० मिटर चौडाइ भागमा कालोपत्र गरी २०७५ जेठमा पुनः सञ्चालन भएको विमानस्थलमा केही समय जहाज आए पनि अहिले भने आउन छोडेको छ । यात्रु अभाव देखाउँदै जहाज नआउने अछाममा अहिले अछामकै कमलजारमा विमानस्थल निमार्ण भइरहेको छ । जहाज नआउँदा सास्ती पाउनुपरेकाे स्थानीयकाे गुनासाे छ । पाउदै आएका स्थानीयवासीहरु बताउछन् । 

देवल विमानस्थल बझाङ

२०३२ सालदेखि नियमित उडान भएको देवल विमानस्थलमा २०६६ सालदेखि जिल्लामा सडक जोडिएसँगै नियमित उडान स्थगित गरिएको थियो । पाँच करोड ५० लाख रुपैयाँको लागतमा छ सय ५० मिटर धावनमार्ग कालोपत्र भएपछि २०७७ सालमा पुनः सञ्चालन भएको विमानस्थलमा अहिले यात्रु अभाव देखाउँदै जहाज आउन छोडेको छ ।

पाटन विमानस्थल बैतडी

२०३२ सालदेखि निर्माण शुरु भएको बैतडीको पाटन विमानस्थल २०३५ सालदेखि सञ्चालनमा आएकोमा २०५२ सालदेखि हवाई सेवा बन्द भयो । पछि २०५८ सालमा सशस्त्र द्वन्द्वका क्रममा तत्कालीन विद्रोही माओवादीले बम प्रहार गर्दा विमानस्थलको कार्यालय र टावर पूर्णरूपमा ध्वस्त भयो । पुनः सञ्चालनको योजनासहित २०७३ सालमा ११ करोड रुपैयाँको लागतमा बैतडी विमानस्थल कालोपत्र गरेर सञ्चालनमा ल्याइएको भए पनि हवाई उडान भने लामो समयदेखि बन्द रहेको छ । यहाँ २०७८ चैत १० गते समिट एअरले अन्तिम उडान भरेको थियो । त्यसयता पाटन–धनगढी उडान हुन सकेको छैन ।

गोकुलेश्वर विमानस्थल दार्चुला

२०५८ साल मङ्सिर ११ गते तत्कालीन विद्रोही नेकपा माओवादीले आगजनी गरेपछि बन्द भएको दार्चुलाको गोकुलेश्वर विमानस्थल अझै सञ्चालनमा आउन सकेको छैन । विमानस्थल सञ्चालनका लागि अहिले धावनमार्गको उचाइ बढाउने काम भइरहेको छ ।

डडेल्धुरा विमानस्थल

सुदुरपश्चिमका नौ जिल्लामध्ये विमानस्थल नभएको जिल्ला हो डडेल्धुरा । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाकाे गृहजिल्ला समेत रहेको डडेल्धुराको अजयमेरु गाउँपालिका–१ पुइलेकमा अहिले विमानस्थल निर्माणका लागि वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) को काम सकिएको छ । नागरिक उड्डयन प्राधिकरणले विमानस्थलको काम अगाडि बढाउन गएकाे वर्ष २५ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । देउवाले समेत चुनावकाे बेला डडेल्धुरा विमानस्थल बन्ने बताउनुभएकाे थियाे । विमानस्थल चाँडो सञ्चालन हुनुपर्ने डडेल्धुरावासीकाे माग छ ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया