देश परिवर्तनका लागि माओवादी केन्द्र रूपान्तरण हुनु जरुरी छ : प्रचण्ड

 भदौ १२, २०८० मंगलबार १३:२३:५१ | रासस
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डाै -  प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई रूपान्तरण गरेर मात्रै देश रूपान्तरणको आधार तयार पार्न सकिने बताउनुभएको छ । माओवादीको उपत्यका विशेष प्रदेश समितिले आज आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले माओवादी रूपान्तरण अनिवार्य सर्त भएको बताउनु भएकाे हाे । 

उहाँले भन्नुभयो, 'देश रूपान्तरणको नयाँ सङ्कल्पसहित एउटा अभियानको शुरूवात गरिएको छ । यसलाई हामी थप तीव्रता दिएर अघि बढ्छौँ । त्यसका लागि माओवादी पार्टीको रूपान्तरण अनिवार्य छ । नागरिकसँग माओवादी अभियानले त्यो रूपान्तरणको सुरूवात गर्नेछ ।' उहाँले सरकारले सुशासनको अभियान दृढतापूर्वक अगाडि बढाएको उल्लेख गर्दै यो अभियान नरोकिने दाबी गर्नुभयाे । 

'नक्कली भुटानी शरणार्थी प्रकरण, सुन प्रकरण, तस्करीको जालो तोड्ने काम अगाडि बढेको छ । यो यहीँ रोकिनेवाला छैन', उहाँले भन्नुभयो, 'भ्रष्टाचारविरूद्धको अभियान थप तीव्र भएर जान्छ । हामीविरूद्ध घेराबन्दी छ, अनेकौँ कुप्रचार छ । तर, हामी दृढताका साथ नै अघि बढ्छौँ ।' देशको समृद्धिका लागि गुणात्मक विकासको खाँचो औँल्याउँदै उहाँले विकासको मोडल फेर्नुपर्ने बताउनुभयो । 

'परम्परागत विकासको मोडेलले समृद्धिको नेतृत्व गर्न सक्दैन । यसमा गुणात्मक रूपान्तरण जरूरी छ', उहाँले भन्नुभयो, 'असफल भएको विकास मोडललाई हामीले सधैँ बोकेर हिँड्न सक्दैनौँ । अर्को बजेटसम्म आउँदा हामी नयाँ अर्थनीति र योजनाका साथ अगाडि जान्छौँ ।'

सरकारले देश र नागरिकको हितमा विभिन्न कदम अगाडि बढाएको उल्लेख गर्दै उहाँले अब छिट्टै नागरिकले त्यसको प्रतिफल लिन पाउने बताउनुभयो । उहाँले भन्नुभयो, 'कुटनीतिमा वर्तमान सरकारले जुन सफलता हासिल गरेको छ, यसबाट कतिपयमा छटपटी शुरू भएको छ । १० वर्षमा १० हजार मेगावाट विद्युत् व्यापारको सम्झौता सानो कुरा होइन । यी कामलाई तपाईंहरूले नागरिकको बीचमा लैजानुहाेस् ।'

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया