‘मनोपरामर्श नपाएको भए सायद मेरो श्रीमान् मलेसियाबाट जीवित फर्किने थिएनन्’

 भदौ १२, २०८० मंगलबार १३:३१:४२
unn.prixa.net

शशीकुमारी यादव/अर्नामा गाउँपालिका, सिराहा ।

साउन महिनाको राती सिमसिम पानी परिरहेको थियो । मलेसियाबाट रामप्यारीलाई श्रीमानले इमोमा भिडियो कल गरे । 

भिडियो कल उठाउँदै रामप्यारीले सोध्नुभयो ‘काम पाइयो ?’

उताबाट श्रीमान् सुखदेवले कामको कुरालाई वास्ता गर्नुभएन । 

आँखाबाट बरबर्ती आँसु झार्दै सुखदेवले भन्नुभयो ‘मलेसिया आउन काढेको ऋण तिर्न नसकिने भइयो ।’

सुखदेव यतिमै रोकिनु भएन । रामप्यारीको मुटुले ठाउँ त त्यती बेला छोड्यो जब उताबाट श्रीमानले आफू मर्छु भन्दै फोन काटे ।

‘मैले ऋण तिर्न सकिनँ, अब म राती सडकमा गएर गाडीमा ठक्कर लागेर मर्छु, म मरेपछि बिमा पैसा आउँछ त्यही पैसाले ऋण तिर्न र बाँकी रहेको पैसाले छोराको उपचार गर्नु भन्दै फोन काट्नुभयो’ रामप्यारी भन्नुहुन्छ ‘उहाँले यसो भनेपछि त मैले केही सोच्नै सकिन, त्यो रात आँखा झिमिक्क नगरेरै बित्यो ।’

श्रीमानले फोन काटेपछि यताबाट कयौँ पल्ट फोन लगाउने कोसिस गर्नुभयो । तर फोन लागेन । बाहिर झमझम परेको पानीले मौसम शीतल थियो । तर रामप्यारीलाई खलखली पसिना आयो । मन छटपटाइरह्यो । घरको रेलिङमा बसेरै त्यो रात कट्यो । 

सुरक्षित आप्रवासन सामी कार्यक्रम अन्तर्गत गाउँमा सञ्चालन भएको वित्तीय साक्षरता कक्षामा सहभागी हुने गरेका कारण मन आत्तिएको बेला रामप्यारीलाई सहज भयो । तन र मनले कुनै मेसो नपाएपछि मनोपरामर्शकर्तालाई फोन लगाउनुभयो ।

‘वित्तीय कक्षामा बस्दा मनोपरामर्शकर्ता म्याडमलाई पनि चिनेको थिएँ, उहाँले केही पर्‍यो भने फोन गर्नु भनेर दिएको नम्बर राखेकाले काम लाग्यो’ रामप्यारी भन्नुहुन्छ । 

फोनमा मनोपरामर्शकर्तालाई आत्तिँदै आफ्नो छटपटी सुनाउनुभयो । मनोपरामर्शसँग फोनमै कुराकानी गरेपछि अतालिएको मन केही शान्त भयो । भोलिपल्ट रामप्यारी मनोपरामर्शकर्ताको अनुरोध अनुसार पालिकामा जानुभयो । 

रामप्यारी पालिकाको कार्यालय आएपछि मनोपरामर्शकर्ताले उहाँसँगै इमोमार्फत नै मलेसियामा सुखदेवलाई पनि फोन गरेर सम्झाउनुभयो ।

मनोपरामर्शकर्तासँग सुखदेवले आफ्नो दुःख साटे । परदेश भनेजस्तो नभएपछि आत्महत्या गर्ने सोच आएको र त्यसका लागि योजना बनाएको कुरा भिडियो कलमै सुनाए । इमोमा भएको एक घण्टाको कुराकानी तथा छलफलपछि सुखदेव सम्हालिए । 

‘कुराकानी पछि त उहाँले अब त्यसो गर्दिन भनेर भन्नुभयो, नत्र त कस्तो डर लागेको थियो’ रामप्यारी भन्नुहुन्छ ‘मलाई त श्रीमानले केही गरिहाल्ने पो हुन कि भन्ने चिन्ताले गाह्रो भएको थियो ।’

मनोपरामर्शकर्तासँगको यो कुराकानीपछि सुखदेव साँच्चै फेरिनुभयो । मलेसियामा काम नदिने कम्पनीले छाडेर अर्को कम्पनीमा काम गर्न थाल्नुभयो । तर उहाँलाई फेरि भाग्यले ठग्यो । पैसा कमाउने उद्देश्यले भागेर काम गरेपछि झन् समस्याहरू थपियो । 

काम लगाउने कम्पनीसँग पैसा माग्दा प्रहरीको धम्की दिन थाले । त्यसपछि भने सुखदेवले जे जसो भए पनि नेपाल फर्किने सल्लाह परिवारसँग गर्नुभयो । 

आप्रवासी स्रोत केन्द्र सिराहाले उहाँलाई नेपाल फर्काउन समन्वय र सहजीकरण गरिदियो । स्रोत केन्द्रकै पहलमा उहाँ नेपाल फर्किनुभयो । 

सुखदेव मलेसियाबाट नेपाल फर्केपछि श्रीमान् श्रीमती दुबैलाई साथमै राखेर मनोपरामर्शकर्ताले मनोपरामर्शको सत्र अगाडि बढाउनुभयो । सुखदेवले मलेसियाका पाएको दुखसुखको कुरा सुन्ने र मनमा परेको पिरचिन्ता कम गर्ने र आत्मबल बलियो बनाउने उपायहरु सिकाउदै जानुभयो । 

अहिले दुवै जना त्यो दुःखको सागरबाट बाहिर निस्किनुभएको छ । मनोपरामर्शले आत्मबल बढेपछि सुखदेव अहिले मिस्त्रीको काम गर्नुहुन्छ । रामप्यारीले किराना पसल खोल्नुभएको छ । दुवैको मनको डर हटेको छ । सुखदेवको मर्ने सोच दिमागबाट हटेको छ ।

आजकाल उहाँ आफूलाई माया गर्न थाल्नुभएको छ । सुखदेव अहिले मिस्त्रीको कामबाट दिनको एक हजार रुपैयाँ कमाइ गर्नुहुन्छ । रामप्यारीले पनि किराना पसलको कमाइले घर व्यवहार चलाइरहनुभएको छ । 

छोराको आँखाको उपचारका लागि सुखदेवले पैसा जम्मा गरिरहनुभएको  छ ।

‘मन पोलेका बेला त पानी परेको बेला पनि गर्मी हुँदो रहेछ, हुँदो रहेछ’ रामप्यारी भन्नुहुन्छ ‘मनोपरामर्श नपाएको भए त सायद मेरो श्रीमान् मलेसियाबाट जीवित फर्किने थिएनन् कि ।’

उहाँहरू मनोपरामर्शपछि आफूले पाएको नयाँ जीवन र थालेको नयाँ सुरुवातसँग निकै खुसी हुनुहुन्छ । 

‘तपाईँहरूसँगको भेटले जीवन जिउन सिकाएको छ, अहिले  त तनाव बिनाको जीवन बाँचिरहेका छौँ’ दुवै जना हाँस्दै भन्छन् । 

नोट : व्यक्तिगत परिचय गोप्य राखिएको छ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

तपाईको प्रतिक्रिया