निर्मला पन्त हत्या प्रकरण : अन्यायका सय दिन

 कात्तिक १६, २०७५ शुक्रबार १५:५:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – कञ्चनपुरकी १३ वर्षकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको आज सय दिन पूरा भएको छ । तर हत्यारा अझै पनि पत्ता लागेको छैन ।

सय दिनमा हत्यारा पत्ता लगाउन भन्दै ७ वटा छानबिन टोली गठन गरे पनि अपराधी पत्ता नलागेपछि अरुको पनि डिएनए परीक्षणको प्रक्रिया अघि बढेको छ । 
घटनास्थल आसपास बस्ने व्यक्तिदेखि निर्मलाका आफन्तसमेत डिएनए परीक्षणमा तानिने भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार अनुसन्धानमा विभिन्न कोणबाट धेरै शंका देखिएका व्यक्तिको डिएनए परीक्षण गर्न लागिएको हो । यस्तै सामाजिक अभियन्ताले निर्मलाको लागि न्याय माग्दै आज बेलुकी ५ बजे ललितपुर पाटनको कृष्ण मन्दिरमा दीप प्रज्ज्वलन गर्दैछन् ।

गएको साउन १० गते घरबाट गृहकार्य गर्न भन्दै साथीको घर पुगेकी निर्मलाको ११ गते उखुबारीमा शव भेटिएको थियो । शव भेटिएसँगै सरकारले बनाएको एउटा उच्चस्तरीयसहित ७ वटा अनुसन्धान टोलीले कुनै नतिजा दिन नसकेपछि सरकारको आलोचना भएको छ ।

निर्मला हत्याकाण्डको सय दिन

साउन १० – साथीको घरमा निस्केकी निर्मला बेपत्ता

साउन ११ – उखुबारीमा शव फेला, हत्यारालाई कारबाहीको माग गर्दै प्रदर्शन

भदौ ४ – हत्या आरोपमा दिलीपसिंह विष्ट पक्राउ, वास्तविक दोषी पक्राउ नपरेको भन्दै प्रदर्शन

भदौ ६ र ७ – प्रहरी र प्रदर्शनकारीबीच झडप, कर्फ्यु

भदौ ७ – गृह मन्त्रालयद्वारा छानबिन समिति गठन । कञ्चनपुरका सीडीओ कुमारबहादुर खड्का र एसपी डिल्लीराज विष्टलाई केन्द्रमा तानियो

भदौ ८ – कञ्चनपुरमा प्रदर्शन कायमै । प्रहरीको गोली लाखेर सन्नी खुनाको मृत्यु

भदौ ९ – बबिता बम र रोशनी बम पक्राउ

भदौ १० – प्रहरीको गोली लागेर मृत्यु भएका सन्नी खुनाको परिवारलाई १० लाख रुपैयाँको राहत घोषणा

भदौ १२ – प्रहरीद्वारा डिएसपी कृष्णराज ओझाको नेतृत्वमा छानबिन समिति गठन 

भदौ २५ – सरकारी छानबिन समितिका सदस्य वीरेन्द्रबहादुर केसीद्वारा राजीनामा

असोज १ – निर्मलाका बाबुआमाद्वारा न्याय माग्दै प्रधानमन्त्रीसँग भेट

असोज १४ – एसपी डिल्लीराज विष्ट र उनका छोरा किरण तथा आयुष विष्टको डिएनए रिपोर्ट नेगेटिभ

कात्तिक ८ – एसपी डिल्लीराज विष्ट र प्रहरी निरीक्षक जगदीश भट्ट बर्खास्त

   

अन्तिम अपडेट: चैत १०, २०८०

तपाईको प्रतिक्रिया