राजनीति सत्ता र शक्तिको साधन होइन भन्ने सन्देश नयाँ पुस्तामा पुर्‍याउन आवश्यक : राष्ट्रपति

 असोज २, २०८० मंगलबार १७:२७:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राष्ट्रपति रामचन्द्र पौडेलले राजनीति सत्ता र शक्तिको साधन होइन भन्ने गणेशमान सिंहको सन्देश नयाँ पुस्तासम्म पुर्‍याउन आवश्यक रहेको बताउनुभएको छ ।

आज मङ्गलवार भक्तपुरमा गणेशमान सिंहको प्रतीक अनावरण कार्यक्रममा राष्ट्रपति पौडेलले देश निर्माणका लागि जीवन समर्पण गर्ने आदर्श, त्यागी र निष्ठावान् नेता गणेशमानको सन्देश वर्तमान र भावी पुस्तासम्म पुर्‍याउन आवश्यक रहेको बताउनुभयो । सिंहले राजनीतिलाई सत्ता र शक्तिको साधन नभएको भन्दै राजाले प्रधानमन्त्री बन्नुभन्दा समेत अस्वीकार गरेको पाैडेलले स्मरण गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘गणेशमान सिंहलाई म सर्वमान्य नेताको रूपमा मान्छु । राजनीतिलाई सत्ता र शक्तिको साधन होइन भन्ने गणेशमान सिंहकाे सन्देश हामीले वर्तमान र भावी पुस्तासम्म पुर्‍याउन सक्नुपर्छ । उहाँ देश निर्माणका लागि जीवन सर्मपण गर्ने आदर्श, त्यागी र निष्ठावान् नेता हुनुहुन्थ्याे ।’

पाैडेलले प्रतीकसहितको गणेशमान पार्कले उहाँको आदर्शपूर्ण जीवनलाई भावी पुस्तासम्म जीवन्त राख्न मद्दत पुर्‍याउने विश्वास लिएको बताउनुभयो । उहाँले गणेशमानको समिप्यताले आफूलाई पनि सत्य र आदर्शको बाटोमा हिँड्न प्रेरित गरेको बताउनुभयो । लोकतन्त्रलाई राज्य सञ्चालनको माध्यम मात्रै नभई जीवन दर्शन र संस्कार पनि हो भन्ने गणेशमान सिंहले देखाएकाे बाटोमा हिँड्नसक्नु उहाँप्रति सच्चा श्रद्धाञ्जली हुने उहाँकाे भनाइ छ ।

पाैडेलले गणेशमान जस्तो महापुरुषको नाममा स्थापना गरिएको एक सय ७५ रोपनी क्षेत्रफलमा फैलिएको पार्क व्यस्त जीवनशैलीका उपत्यकावासीका लागि स्वच्छ वातावरणमा रम्ने उपयुक्त स्थल बन्न सक्ने बताउनुभयो । याे पार्कलाई नेपालमा आउने पर्यटकहरूलाई नेपालको जानैपर्ने एउटा ठाउँ बनाउने गरी विकास गर्न उहाँले आग्रह गर्नुभयो ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया