मनकारी जनप्रतिनिधि: वर्षभरिकाे तलब-भत्ता गरिब र असहायलार्इ तिहार खर्च बाँडे

 कात्तिक १६, २०७५ शुक्रबार १८:५५:२९ | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम – रुकुमको बाँफिकोट गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष चन्द्रबहादुर के.सी.ले आफ्नो गाउँपालिकाका २५ जना गरीब, विपन्न, अपाङ्ग, असाहय, टुहुरा तथा दीर्घ रोगीलाई तिहार खर्च बापत जनही ४ हजार प्रदान गर्नुभएको छ । 

केसीेले जनप्रतिनिधिको हैसियतमा प्राप्त गरेको सेवा सुविधा प्रदान गर्नुभएको हो । 

रकम पाएपछि गरिब, विपन्न, टुहुरा, अपाङ्ग, असहाय र दिर्घरोगीहरुले आफैले चुनेका वडा अध्यक्षबाट तिहार खर्च पाएर खुशि साटेका छन् । 

गाउँपालिकाको ३ नम्बर वडा कार्यालयमा बोलाएर अध्यक्ष केसीले गाउँपालिकाका दश वटै वडाका २५ सर्वसाधारण नागरिकलाई १ लाख रुपैयाँ बितरण गर्नुभएको हो । 


वडा अध्यक्षबाट तिहार खर्च पाउनेहरुमा ९ जना गरिब तथा विपन्न, ८ जना दीर्घरोगी, ४ जना टुहुरा र ४ जना अपाङ्ग रहेका छन् । 

तीमध्ये ३ नम्बर वडाका १५, ५ नम्वर वडाका २ र १, २, ४, ६, ७,८, ९ र १० नम्वर वडाका एक÷एक जना रहेका छन् । 

वडा कार्यालयमा आएर वडा अध्यक्षबाट तिहार खर्च बुझेपछि गाउँपालिका वडा नं. ३ का अपाङ्ग अर्जे कामीले तिहारमा रमाईलो र थप खर्चिलो नहुने बताउनुभयो । वडा अध्यक्षको सानो सहयोग आफ्नो लागि ठूलो भएको उहाँले बताउनभयो । 

सानी बहिनीको साथमा आएकी वडा नं. ३ कै सीता ओलीले तिहारमा खर्च गरेर बचेको रकमले कापी किताब किन्ने बताउनुभयो । उहाँहरु जस्तै सम्मानसहित तिहार खर्च पाएका अन्य सर्वसाधारणले अध्यक्षले चाडपर्वमा साथ दिएको भन्दै खुशि व्यक्त गरेका छन् । 

वडा अध्यक्ष केसीले मासिक १९ हजारका दरले एक वर्षको २ लाख २८ हजार रुपैयाँ सेवा सुविधा वापत बुझ्नुभएको थियो । अध्यक्ष केसीले यस अघि पाएको बैठक भत्ताको रकम पनि दीर्घ रोगीलाई सहयोग गर्नुभएको थियो । 

कार्यपालिका सदस्यको हैसियत तथा वडा कार्यालयको बैठक बसे वापत पाएको भत्ता वापतको ८ हजार रुपैयाँ उहाँले २ जना विरामीलाई सहयोग गर्नुभएको थियो ।  
ठूलो रकम प्रदान गर्न नसके पनि सर्वसाधारण जनतासँग जोडिन भावनात्मक रुपमा सानो आर्थिक सहयोग गरिएको वडा अध्यक्ष केसीको भनाई छ ।

‘मैले सहयोग गरेको ४ हजार रुपैयाँ ठूलो रकम त हैन, तर म जनताकै लागि चुनावमा जितेकोले यसो गरेको हुँ, उहाँले भन्नुभयो, ‘म गरिब तथा विपन्न, अपाङ्ग, दीर्घ रोगी, जेष्ठ नागरिकको लागि थप सहयोग गर्न अझै तयार छु ।  ’
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया