कर्णाली प्रतिष्ठानमा आईसीयू सेवा सुरु

 कात्तिक १६, २०७५ शुक्रबार १९:११:३३ | नेत्र शाही
unn.prixa.net

जुम्ला – कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा आर्ईसीयू सेवा शुरु भएको छ ।

प्रतिष्ठानले आफ्नो  गुुणस्तरीय सेवा विस्तारका लागि आईसीयू शुरु गरेको जनाएको छ । ‘हामीले सयौं बिरामी आईसीयू अभावका कारण जुम्लाबाट बाहिर पठाउने गछौं, धेरै बिरामी बाहिर जानबाट रोक्न तथा सेवा सुविधाका लागि आईसीयू सेवा शुरु गरेका छौं’, प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले जानकारी दिनुभयो ।

रजिष्ट्रार काफ्लेका अनुसार अब विशेष प्रकारका बिरामीलाई आईसीयू अभावमा रिफर गर्नुपर्ने अवस्था छैन् । धेरै जनशक्ति आवश्यक पर्ने र धेरै महंगा उपकरण आवश्यक रहने आईसीयूको तयारी भईसकेको उहाँले जानकारी दिनुभयो ।

यसैगरी प्रतिष्ठानको आफ्नै ब्लड बैंक, सिटीस्क्यान सेवा पनि मंसिर महिनामा शुरु हुने भएको छ । अब प्रतिष्ठानले ल्याबका सम्पूर्ण परीक्षण पनि यही गर्ने दाबी गरेको छ । ल्याबका सम्पूर्ण सामग्रीहरु आइसकेका प्रतिष्ठानले जानकारी दिएको छ ।

आईसीयू नहुँदा धेरै बिरामीहरु नेपालगञ्ज र काठमाडौं रिफर गर्नुपर्ने समस्या भइरहेको थियो । प्रतिष्ठानले पछिल्लो समयमा विभिन्न प्रकारका विशेषज्ञ स्वास्थ्य सेवाहरु समेत शुरु गरिरहेको छ ।

वि.सं २०६८ सालमा तत्कालीन सांसद तथा अहिलेका कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले प्रतिष्ठान स्थापनाका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको ऐन टेबुल गर्नुभएको थियो ।

ऐन पारित भएर प्रतिष्ठानको स्थापनापछि पछिल्लो समयमा प्रतिष्ठानले कर्णाली प्रदेशसहित १३ जिल्लाको स्वास्थ्य सेवा, स्वास्थ्य शिक्षा र स्वास्थ्य अनुसन्धानमा काम गर्दै आएको छ ।

प्रतिष्ठानले ३ सय शैया अस्पताल निर्माण गरी स्वास्थ्य सेवामा मेजर शल्यक्रियादेखि विभिन्न प्रकारका सेवाहरु निरन्तर विस्तार गरिरहेको छ भने स्वास्थ्य शिक्षामा स्टाफ नर्स, हेल्थ असिष्टेन्ट, मिडवाफ्री अध्ययन गर्नुका साथै वीपीएच, एमडीजीपी र एमवीवीएस (डाक्टर) अध्ययन गराउन तयारी भइरहेको छ ।

यसैगरी प्रतिष्ठानले कर्णाली तथा पिछडिएको क्षेत्रको स्वास्थ्य अनुसन्धानको  समेत काम गरिरहेको कर्णाली प्रदेशको सबैभन्दा ठूलो स्वास्थ्य संरचना हो ।  

अन्तिम अपडेट: चैत १५, २०८०

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया