यस्तो छ दक्षिणपूर्वी युरोपेली देश साइप्रसमा पाइने काम र हुने कमाइ

 असोज ८, २०८० सोमबार १६:३:९
unn.prixa.net

साइप्रसको पूरा नाम साइप्रस गणतन्त्र हो । नेपाल सरकारले नेपाली महिलालाई घरेलु काममा जान वैधानिकता दिएको दुई देशमध्ये साइप्रस पनि एक हो । भौगोलिक रूपमा यो पश्चिम एसियामा अवस्थित छ । तर सांस्कृतिक र भूराजनीतिक रूपमा दक्षिणपूर्वी युरोपेली देश हो । इजिप्टको उत्तर, ग्रिसको पूर्व, टर्कीको दक्षिण र लेबनान र सिरियाको पश्चिममा अवस्थित छ साइप्रस ।

यसको राजधानी र सबैभन्दा ठुलो सहर निकोसिया हो । साइप्रस युरोपेली सङ्घको भाग हो तर शेन्जेन देशहरूको सूचीमा समावेश छैन । शेन्जेन सदस्य भएपछि देशहरूबीच स्वतन्त्र रूपमा मानिसको आवतजावतसँगै सामानहरू समेत सिमाना वारपार गर्न सक्ने सुविधा हुन्छ । यस्तो सम्झौता युरोपका २७ देशबीच भएको छ । तर साइप्रससँग छैन ।

राजधानी : निकोसिया

जनसङ्ख्या : १२ लाख ४४ हजार १८८

भाषा : ग्रीक

मुद्रा : यूरो (१ यूरो बराबर १४५ नेपाली रुपैयाँ हुन्छ )।

समय भिन्नता : नेपालको समय भन्दा २  घण्टा  ४५ मिनेट ढिला ।

 साइप्रस दक्षिणी र उत्तरी गरी दुई भागमा विभाजित छ । दक्षिणी साइप्रसमा ग्रीक-भाषीहरूको शासन छ भने उत्तरी क्षेत्र टर्कीद्वारा मात्र मान्यता प्राप्त स्व-घोषित टर्किस् रिपब्लिक अफ नर्दन साइप्रस (TRNC) द्वारा शासित छ । यी दुई टापुबीच दशकौँदेखि पुनः एकीकरणको वार्ता जारी रहे पनि परिणाम आउन सकेको छैन । शान्ति सुनिश्चित गर्न राष्ट्रसङ्घले देशका दुई भागबीच मध्यवर्ती क्षेत्र (Green Zone) स्थापना गरेको छ ।

धर्म : साइप्रसको संविधानमा धार्मिक स्वतन्त्रता लेखिएको छ । यहाँ धर्मको आधारमा विभेद छैन । क्याथोलिक, यहूदी, आर्मेनियाली र मारोनिट्स टापुमा शान्तिपूर्वक बस्छन् । यद्यपि, साइप्रियटहरू खास गरी ग्रीक अर्थोडक्स चर्चका सदस्यहरू हुन् । मुस्लिम धर्म मान्नेहरूको सङ्ख्या पनि धेरै रहेको छ ।

हावापानी : यो न्यानो र घमाइलो हावापानी भएको टापु हो । यहाँ गर्मी र जाडो दुवै खालको मौसम हुन्छ । तर अत्यधिक जाडो भने हुँदैन । जाडोमा १२ डिग्री सेल्सियस र गर्मीमा ३३ डिग्री सेल्सियसको औसत तापमान हुन्छ ।

भिसाको प्रावधान : यहाँ बस्न र काम गर्न जानु पूर्व कार्य अनुमति (work permit) आवश्यक पर्दछ । साइप्रस वर्क परमिट प्राप्त गर्नको लागि तपाईँसँग पहिले साइप्रसको रोजगारदाता कम्पनीसँग कामको सम्झौता हुनुपर्छ । तर वर्क परमिटको लागि तपाईँको रोजगारदाताले तपाईँ आफ्नै देशमा हुँदै खेरी त्यहाँ आवेदन दिनुपर्छ ।

त्यस पछि साइप्रस कार्य भिसा (work visa) को लागि आवेदन दिनु पर्छ । यो भिसाले दीर्घकालीन निवास र रोजगारीको उद्देश्यका साथ साइप्रसमा प्रवेश गर्न अनुमति दिन्छ । साइप्रस पुग्छु अनि काम गर्ने भिसा लगाउँछु भनेर पाइँदैन ।

साइप्रस पुगेको सात दिन भित्र प्रहरी विभागको एलियन्स र अध्यागमन एकाईको स्थानीय जिल्ला कार्यालय वा निकोसियाको सिभिल रजिस्ट्री र माइग्रेसन विभागको केन्द्रीय कार्यालयहरूमा दर्ता गर्नुपर्छ र आफ्नो साइप्रसमा बस्ने अनुमति (Cyprus Residence Permit) लिनुपर्छ । तपाईँले भिसाको आवेदन दिँदा साइप्रस अधिकारीहरूले तपाईँको बायोमेट्रिक र हस्ताक्षर लिनेछन् ।

यहाँ काम गर्ने र बस्ने अनुमति सामान्यता अधिकतम ४ वर्षको लागि हुन्छ । तर कृषि तथा पशुपालन क्षेत्रहरूको लागि भने अवधि ६ वर्ष तोकिएको छ ।

रोजगारीको अवसर : युरोपका देशमा सबैभन्दा द्रुत गतिमा वृद्धि भइरहेको अर्थतन्त्र मध्ये एक हो । यहाँ बस्दा र काम गर्दा धेरै फाइदाहरू छन् । यहाँ अन्तर्राष्ट्रिय कार्य वातावरण र युरोपेली सङ्घ मध्येमा सबैभन्दा कम करको दर छ । राजधानी सहरको रूपमा निकोसिया साइप्रसमा बस्नको लागि उत्तम ठाउँ हो । यो वित्तीय केन्द्र पनि हो । त्यसैले यहाँ रोजगारीसँगै व्यापारको अवसरहरू पनि पाइन्छ ।

रोजगारीको क्षेत्र : यहाँ निर्माणको क्षेत्र, कृषि, होटल, रेस्टुरेन्टका साथै शिशु नर्सहरू र हेरचाहको काम गर्ने कर्मचारीहरूका साथै प्रशासनिक क्षेत्रमा कामको अवसर बढी छ ।

पारिश्रमिक : साइप्रसमा राष्ट्रिय न्यूनतम पारिश्रमिक १ जनवरी २०२३ देखि लागू हुने गरी ९४० युरो (करिब १,३४,००० नेपाली रुपैयाँ) तोकिएको छ । तर घरेलु कामदारहरूलाई भने राष्ट्रिय न्यूनतम पारिश्रमिकमा समावेश गरिएको छैन ।

ट्राफिक नियम : यहाँ सबै सवारीसाधनहरू सडकको बायाँ तर्फ चल्छन् । गाडी चलाउनको लागि कानुनी उमेर १८ वर्ष हो । रगतमा ०.०५% वा माथिको अल्कोहलको स्तर भए सवारी साधन हाँक्न निषेध छ । आपतकालीन अवस्थामा ११२ डायल गरेर सहयोग लिन सकिन्छ । पैदल यात्रीले सधैँ सडक पेटी (footpath) को प्रयोग गर्नु पर्छ । सडक पार गर्दा आफ्नो सुरक्षा सुनिश्चित गर्न पेलिकन क्रसिङ, जेब्राक्रस, सबवे, फुटब्रिज, टापु र ट्राफिक बत्तीहरू जस्ता तोकिएका ठाउँहरू प्रयोग गर्नुपर्छ । बाटो काट्न सुरु गर्नुअघि सवारी साधनहरू पूर्णरुपमा रोकिएको सुनिश्चित गर्नुपर्छ । बाटो काट्दा सधैँ स्टडहरूबीच वा जेब्राको चिन्हहरू माथि हिँड्नुपर्छ ।

सजग रहनुहोस् तपाईँ साइप्रस यात्रा गर्दा निम्न चीजहरू लैजान सक्नुहुन्न:

  • मासु वा मासु भएको कुनै पनि बस्तुहरू
  • दूध वा डेरी उत्पादनहरू
  • ताजा फल
  • तरकारी
  • बिरुवाहरू

 साइप्रस संस्थागत रूपमा म्यानपावर व्यवसायीले वैदेशिक रोजगारीमा श्रमिक पठाउन पाउने गरी सरकारले खुला गरेको देश हो । यो देशमा श्रमिक पठाउन कुन म्यानपावर कम्पनीले कुन कुन कामको माग ल्याएको छ र के कस्ता सेवा सुविधा पाइन्छ भन्ने जानकारी वैदेशिक रोजगार विभागको वेबसाइटमार्फत थाहा पाउन सकिन्छ । यसका लागि विभागको वेबसाइट www.dofe.gov.np मा गई वैदेशिक रोजगारीको खोजी लेखिएको ठाउँमा क्लिक गरी आफूलाई आवश्यक परेको जानकारी खोज्न सकिन्छ ।

 साइप्रसमा नेपालको आधिकारिक नेपाली नियोग छैन । इजरायलमा रहेको नेपाली दूतावासले साइप्रस सम्बन्धी द्विपक्षीय मामिला हेर्ने गर्छ । तर निकोसियामा नेपालको आवासीय नियोगको अनुपस्थितिमा भिसा जारी गर्ने लगायतका अन्य व्यावसायिक विषयमा साइप्रसका लागि नेपालका अवैतनिक महावाणिज्यदूतका रूपमा सरकारले नेपाल सरकारको प्रतिनिधिको रूपमा ताक्ने गरेको छ ।

 सम्पर्क :

अवैतनिक महावाणिज्यदूत साइप्रस

साभ्रो एभिन्यु  -71, स्ट्रोभोलोस -2035 निकोसिया, साइप्रस
अफिस B001

फोन: +357-22-255511
मोबाइल: +357-99-666401

त्यस्तै नेपालमा साइप्रसको आधिकारिक नियोग छैन । नयाँ दिल्लीस्थित साइप्रियट हाइकमिसनले नेपाल (भिसा) सम्बन्धी सबै कामकाज हेर्ने गर्छ । साइप्रसले नेपालमा मानार्थ महावाणिज्यदूत नियुक्त गरेको छ ।

उत्तरीसाइप्रसको बारेमा (उत्तरी  साइप्रसको टर्की गणतन्त्र)

साइप्रस भित्रै यो टर्कीले मात्र मान्यता दिएको स्वतन्त्र देश हो । टर्की बाहेक कुनै पनि देशले आधिकारिक रूपमा उत्तरी साइप्रसलाई सार्वभौम राज्यको रूपमा मान्यता दिएको छैन । संयुक्त राष्ट्रसङ्घले यसलाई टर्कीको कब्जामा रहेको साइप्रस गणतन्त्रको क्षेत्रको रूपमा मान्यता दिएको छ । उत्तरी साइप्रसको नियन्त्रणमा रहेको क्षेत्रमा अवस्थित एयरपोर्ट र बन्दरगाहहरू मार्फत साइप्रस गणतन्त्र(दक्षिणी साइप्रस)मा प्रवेश गर्न निषेध गरिएको छ ।

यसो गरेमा साइप्रस गणतन्त्रको राष्ट्रिय कानुनको उल्लङ्घन गरिएको हुनेछ र प्रतिबन्धमा पर्न सकिन्छ । यहाँ रोजगारीका लागि जाने बाटोहरु लार्नाका र पाफोसका एयरपोर्टहरू र लार्नाका, लिमासोल, लात्सी र पाफोसका बन्दरगाहहरू हुन् । जुन साइप्रस गणतन्त्र सरकारको नियन्त्रणमा रहेको क्षेत्रमा पर्दछन् ।

दक्षिणी साइप्रसमा नेपालीहरु गएका छन् या छैनन् भन्ने आधिकारिक तथ्य फेला परेको छैन ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया