नेपालको विश्व कीर्तिमानी जित : मंगोलिया २ सय ७३ रनले पराजित

 असोज १०, २०८० बुधबार १०:२३:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपालले १९ औँ एसियाली खेलकुद अन्तर्गत क्रिकेटमा विश्व कीर्तिमानी जितसहित मंगोलियालाई २ सय ७३ रनको फराकिलो अन्तरले हराएको छ । जितका लागि ३ सय १५ रनको लक्ष्य पछ्याएको मंगोलिया १३ ओभर एक बलमा ४१ रनमा अलआउट भयो ।

नेपालको यो जित टि–२० इतिहासकै सबैभन्दा ठूलो जित हो । यसअघि सन् २०१९ मा चेक रिपब्लिकनले टर्कीलाई २ सय ५७ रनको अन्तरले हराएको थियो । मंगोलियाका दावासुरेनले १० रन बनाउनुबाहेक अन्य कुनैपनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालका करण केसी, अभिनाश बोहरा र सन्दीप लामिछानेले समान दुई विकेट लिए । सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले एक÷एक विकेट लिए । त्यसअघि चीनको हान्झाउमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै ३ सय १४ रन बनायो ।

टी–२० खेलमा पहिलो पटक ३ सयभन्दा माथि रन बनेको हो । कुशल मल्ल र दीपेन्द्र सिंह ऐरीको विश्व कीर्तिमानी ब्याटिङमा नेपालले उच्च स्कोर बनाएको हो । कुशल मल्ल ५० बलमा १ सय ३७ रनमा र दीपेन्द्रसिंह ऐरी १० बलमा ५२ रनमा अविजित रहे । कुशलले ३४ बलमै शतक प्रहार गरेका थिए ।

योसँगै कुशल टी–२० मा सर्वाधिक छिटो शतक प्रहार गर्ने खेलाडी बनेका छन् । यसअघि भारतका रोहित शर्मा, दक्षिण अफ्रिकाका डेविड मिलर र चेकरिपब्लिकनका सुदेश विक्रमशेखरले समान ३५ बलमा शतक हानेका थिए ।

नेपालका दीपेन्द्र सिंह ऐरी सर्वाधिक छिटो अर्धशतक प्रहार गर्ने खेलाडी बनेका छन् । उनले ९ बलमै अर्धशतक प्रहार गरे । यसअघि टी–२० मा सर्वाधिक छिटो अर्धशतक भारतीय खेलाडी युवराज सिंहले सन् २००७ मा इंग्ल्यान्डसँगको खेलमा १२ बलमै पूरा गरेका थिए ।

ऐरीले अन्तर्राष्ट्रिय कुनै पनि खेलमा सर्वाधिक छिटो अर्धशतकको कीर्तिमान बनाएका हुन् । उनले १९ औँ ओभरको अन्तिम पाँच बलमा लगातार पाँच छक्का हाने । नेपालबाट यसअघि ज्ञानेन्द्र मल्लले १८ बलमा अर्धशतक पुरा गरेका थिए । ज्ञानेन्द्रले सन् २०१२ मा साउदी अरबसँगको खेलमा यो अर्धशतक पूरा गरेका थिए ।

नेपालले आफ्नो समूह चरणको अन्तिम खेल आइतवार माल्दिभ्ससँग खेल्नेछ । नेपाल क्वाटरफाइनलमा पुगे भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तानमध्ये एक टोलीसँग खेल्नुपर्ने हुन्छ । एसियाली खेलकुद अन्तर्गत क्रिकेटमा नेपालले पदकको लक्ष्य राखेको छ ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया