१३ वर्षीया बालिका बलात्कारको आरोपमा युवक पक्राउ

 कात्तिक १७, २०७५ शनिबार १३:४८:२१ | गोपाल भण्डारी
unn.prixa.net

कपिलवस्तु – १३ वर्षीया बालिका बलात्कारको आरोपमा प्रहरीले शिवराज नगरपालिका वडा नं.–१ का एक युवकलाई पक्राउ गरेको छ । 

प्रहरीले स्थानीय २२ वर्षीय युवक खिम बहादुर वि.क.लाई स्थानीय एक बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ गरेको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ । 

पक्राउ परेका वि.क.ले बुधबार राति १३ वर्षीय एक बालिकालाई घर नजिकै शौचालयमा शौच गर्न गएको मौका छोपी जबरजस्ती समातेर मुख छोपी बलात्कार गरेको पीडित परिवारले आरोप लगाएको छ । 

पीडित परिवारको उजुरीका आधारमा युवक वि.क.लाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको वडा प्रहरी कार्यालयका प्रहरी निरिक्षक महेश्वर उपाध्यायले बताउनु भयो । 

मेडिकल रिपोर्टको आधारमा युवकमाथि कारवाही प्रक्रिया अघि बढ्ने प्रहरी निरिक्षक उपाध्यायले बताउनु भयो । 

बलात्कार जस्तो जघन्य अपराधमा पीडकलाई हदैसम्मको सजाय हुनु पर्ने भन्दै पीडित परिवारले प्रहरीलाई दबाब दिएका छन् भने स्थानीय संचारकर्मीहरुसँग न्यायका लागि पहल गरिदिन अनुरोध गरेका छन् । 

घटनाको प्रकृतिका आधारमा प्रहरी अनुसन्धान र मेडिकल रिर्पोट अनुसार दोषीलाई नियम अनुसारको कारबाही हुने प्रहरी नायब उपरीक्षक रवि रावलले बताउनु भयो ।


 

अन्तिम अपडेट: बैशाख ३, २०८१

गोपाल भण्डारी

गोपाल भण्डारी कपिलवस्तुका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया