महिला क्लब लिग च्याम्पियनशीप भलिबलको उपाधि एपीएफलाई

 जेठ २६, २०७५ शनिबार १७:२८:४८ | उज्यालो सहकर्मी

चौथो आरबीबी एनभीए महिला क्लव लिग च्याम्पियनशीप भलिबलको उपाधि एपीएफ क्लबले जितेको छ । 

एपीएफले राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा शनिबार भएको फाइनलमा न्यु डायमण्ड क्लबलाई २५–१४, २५–२३ र २५–१९ को सेटमा पराजित गरेको हो ।

एपीएफको यो सिजनको तेस्रो उपाधि हो । यसअघि एपीएफले शेरबहादुर स्मृति राष्ट्रिय महिला भलिबल र सभामुख कप राष्ट्रिय भलिबलको उपाधि जितेको थियो । तीनवटै प्रतियोगितामा एपिएफले न्यु डायमण्डलाई नै हराएको थियो । 

उपाधिसँगै एपीएफले २ लाख रुपैयाँ पुरस्कार पाएको छ भने न्यु डायमण्डले १ लाख रुपैयाँमा चित्त बुझाएको छ । तेस्रो भएको नेपाल पुलिसले ५० हजार तथा चौथो भएको त्रिभुवन आर्मीले २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । 
पश्चिमाञ्चलबाट खेलिरहेका मञ्जु गुरुङ र अरुणा शाहीलाई टिममा सहभागी गराएको न्यु डायमण्डले लिग चरणमा भने एपीएफलाई ३–१ को सेटमा पराजित गरेको थियो । 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया