गल्ती नगर्ने, भइहाले सच्याएर अघि बढ्ने क्षमता कम्युनिष्टमा मात्रै हुन्छ : अध्यक्ष प्रचण्ड

नेकपाबाट मात्रै समृद्धि सम्भव छ : अध्यक्ष प्रचण्ड

 कात्तिक १७, २०७५ शनिबार २०:३१:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

रुपन्देही – नेपाल कम्युनिष्ट पार्टी ने क पा का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र नागरिकको समृद्धि ने क पा बाट मात्रै सम्भव रहेको बताउनुभएको छ ।

व्यक्तिगत स्वार्थलाई कुल्चिएर नागरिकको हित र राष्ट्रिय एकतालाई ध्यानमा राखेर पार्टी एकताको सङ्कल्प गरेको बताउँदै उहाँले अब विकास र समृद्धिको नेतृत्व गर्ने बताउनुभयो । ने क पा रुपन्देहीले शनिबार बुटवलमा आयोजना गरेको शुभकामना तथा सन्देशसभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले एकता प्रक्रियालाई तल्लो तहसम्म व्यवस्थित गर्दा केही ढिलाइ भए पनि अब छिट्टै एकता प्रक्रियाको टुङ्गो लाग्ने बताउनुभयो ।

अध्यक्ष दाहालले पार्टी एकतापछि नेकपाको एउटै उद्देश्य देश र जनताको समृद्धि भएको बताउँदै अबको दशक विकास निर्माणमा क्रान्ति र समृद्धिको दशक भएको बताउनुभयो । ‘पार्टी एकतापछि असोज ३ सम्म विभिन्न ऐन बनाउन लाग्यौँ, अब सरकारलाई आरोप लगाउने ठाउँ छैन’, उहाँले भन्नुभयो, ‘खाल्डाखुल्डी पुरेको तुरुन्तै देखिन्छ तर ऐन कानून बनेको देखिँदैन ।’

अध्यक्ष दाहालले मुलुक सङ्घीय संरचनामा जाँदा सरकारलाई काम गर्न अप्ठ्यारो भए पनि उल्लेख्य काम भएको दाबी गर्नुभयो । पार्टी एकताका विरुद्धमा प्रतिक्रियावादीले गलत प्रचार गरे पनि त्यसका पछाडि नलाग्न उहाँले आग्रह गर्नुभयो ।

विगतमा जनयुद्धकालमा केही कमजोरी भए पनि त्यसलाई सच्चाएर अघि बढ्दा केही समय लागेको बताउँदै उहाँले भन्नुभयो, ‘सकेसम्म गल्ती नगर्ने भइहाले सच्याएर अघि बढ्ने क्षमता कम्युनिष्टमा मात्रै हुन्छ ।’

राजनीतिक नेतृत्व सङ्घीयता कार्यान्वयनमा लागे पनि कर्मचारीतन्त्रले अझै नबुझेका कारण समस्या भएको उहाँले बताउनुभयो । अध्यक्ष दाहालले सुन्दर र सभ्य नेपाल निर्माणमा साथ दिन कार्यकर्तालाई आह्वान गर्नुभयो ।

कार्यक्रममा ने क पा का महासचिव विष्णु पौडेलले नेपालको कम्युनिष्ट आन्दोलन नयाँ ढङ्गको पाठशाला बनेको बताउनुभयो । कम्युनिष्ट आन्दोलनलाई नबुझी विश्वको राजनीति बुझ्न नसकिने भन्दै उहाँले दुई पार्टीबीचको एकता उदाहरणीय भएको बताउनुभयो ।

महासचिव पौडेलले भन्नुभयो, ‘दुई पार्टी कहिल्यै मिल्न सक्दैनन् भन्ने भ्रम धेरैमा थियो एमाले र माओवादीलाई नदीका दुई किनारा भनियो, आज नदीका दुई किनारा नभई एउटै नदी भएका छौँ ।’

पार्टी एकता भए पनि जनताप्रतिको जिम्मेवारी अझै पूरा नभएको बताउँदै उहाँले विभेद, उत्पीडन, वर्गीय शोषण समाप्त पार्नकै लागि एकता गरिएको बताउनुभयो । पार्टी एकता बलियो धागोमा उनिएको एकता भएको उहाँको भनाइ छ ।

अन्तिम अपडेट: असोज ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया