मन्त्रीहरुको कामको अनुगमन डिजिटल प्रविधिबाट, मोबाइल एप बन्न बाँकी

 कात्तिक १८, २०७५ आइतबार १२:१९:२५ | नवराज फुयाँल
unn.prixa.net

काठमाडौं – प्रधानमन्त्री कार्यालयले डिजिटल प्रविधिमार्फत मन्त्रीहरुको कामको अनुगमन थालेको छ । 

प्रधानमन्त्रीको सचिवालयले तयार गरेको पोर्टलमा हरेक मन्त्रालयले आफूले गरेको कामको विवरण अनिवार्य रुपमा नियमित राख्न थालेपछि प्रधानमन्त्री आफैले मन्त्रीहरुको अनुगमन थाल्नुभएको हो ।  

प्रधानमन्त्रीको सचिवालयले तयार पारेको पोर्टलमा नीति तथा कार्यक्रम र बजेटमा परेका कार्यक्रमको कार्यान्वयनको व्यहोरा राखिएको छ । हरेक मन्त्रालयले तोकिएको निर्देशिका अनुसार नियमित रुपमा आफूले गरेको कामको विवरण राख्नु पर्नेछ ।

अहिले प्रधानमन्त्रीले अनुगमन गर्न मिल्ने गरी सबै मन्त्रालयबीच पोर्टल ‛कनेक्ट′ भइसकेको र मन्त्रालयहरुले पनि धमाधम आफूले गरेका कामका विवरण राख्ने काम सुरु गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता बिनोद बहादुर कुँवरले जानकारी दिनुभयो । 

मन्त्रालयहरूको कार्यसम्पादनको अनुगमन, अन्तरमन्त्रालय र विभागहरूबीच सहजीकरण तथा समन्वय गर्न यसले सहज पुर्‍याउने विश्वास लिइएको छ । 

प्रधानमन्त्री कार्यालय र मन्त्रालयबीच समन्वय र अनुगमनको अभावले सरकारले चाहेजसरी काम गर्न नसकेको भन्ने गुनासो बढेपछि सबै मन्त्रालयको काम प्रभावकारी बनाउन ‛डिजिटलाईज्ड′ प्रविधिमार्फत प्रधानमन्त्री आफैले सबै मन्त्रालयको अनुगमन थाल्नुभएको हो । 

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुको कामको अनुगमन पोर्टलबाट मात्रै नभएर मोबाइल एपबाटै गर्ने तयारी पनि गर्नुभएको छ । कामलाई प्रभावकारी र चुस्त पार्न ‘डिजिटलाइज्ड’ प्रविधि अपनाउन लागिएको प्रवक्ता कुँवरको भनाइ छ । 

पोर्टलमा कसरी हुन्छ काम ?

प्रत्येक मन्त्रालयले कुन महिनामा के गर्ने भनेका थिए ? गर्ने भनेको काम के भयो ? भन्ने जस्ता विवरणहरु पोर्टलमा प्रस्टै देख्न सकिने प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल बताउनुहुन्छ । 

सरकारका नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन सम्बन्धमा मन्त्रालयगत प्रस्तुतीकरण र कार्ययोजनाको ड्राफ्ट यसअघि नै तयार भैसकेको छ । सबै मन्त्री र सचिवको टेबलमा मन्त्रालयगत योजनाको पुस्तिका छ । त्यही अनुसार हुनु पर्ने काम भयो भएन, त्यसको विवरण पोर्टलमा चढाउनुपर्ने हुन्छ । 

उदाहरणको लागि कात्तिक महिनामा एउटा मन्त्रालयको काम ‘बाटो बनाउने’ भन्ने थियो भने त्यसको २० प्रतिशत काम सम्पन्न भएको भए एउटा तारामा, ४० प्रतिशत भए दुईवटा तारामा, ६० प्रतिशत भए तीनवटा तारामा, ८० प्रतिशत भए चारवटा तारामा र शतप्रतिशत काम पूरा भएको भए पाँचवटा तारामा चिन्ह लगाउनु पर्छ ।  

‘त्यो काम भनेको मन्त्रालयका सचिवहरुको हो,’ रिमालले भन्नुभयो, ‘सचिवहरुले कामको विवरण हेरेर स्वमूल्यांकन गर्न सक्ने व्यवस्था मिलाइएको हो ।’ सफ्टवेयरमै अटो ग्रेडिंग सिस्टम राखिएको छ ।

मन्त्रालयले भरेको उक्त विवरण प्रधानमन्त्रीले सोझै पोर्टलबाट अनुगमन गर्न सक्नुहुन्छ । जस्तो पाँच वटा तारामा क्लिक भएकोमा त्यसमा के भयो भनेर प्रधानमन्त्रीले पोर्टलबाट विस्तृतमा हेर्न मिल्छ । त्यो काममा के के गतिविधि भयो सबै त्यसमै विस्तृत रुपमा लेखिएको हुन्छ ।  

‘पोर्टलबाट अनुगमन सुरु भएपछि कसले कति काम गर्यो भनेर सोध्नै पर्दैन’ उहाँले भन्नुभयो, ‘सफ्टवेयरको भरमा कुन सचिवले काम गर्यो, कुन सहसचिवले काम गरेन भन्ने मूल्यांकन हुन्छ । यसबाट कर्मचारीको मूल्यांकन गर्न पनि सहज भएको छ ।’ 

यसरी हुन्छ अनुगमन 

प्रधानमन्त्री कार्यालयको पुनर्संरचनासँगै अहिले ११ वटा महाशाखा छन् । सामाजिक विकास तथा रूपान्तरण महाशाखा, प्रादेशिक समन्वय तथा योजना महाशाखा, राष्ट्रिय सुरक्षा तथा कूटनीति समन्वय महाशाखा, नतिजा व्यवस्थापन महाशाखा, लगानी उत्पादन तथा रोजगार प्रवद्र्धन महाशाखा, पूर्वाधार विकास महाशाखा थपिएका छन् ।

सबै महाशाखाको नेतृत्व सहसचिवले गर्छन् । ती महाशाखाको समग्र नेतृत्वको जिम्मा भने पाँचजना सचिवलाई दिइएको छ । ‘प्रत्येक सहसचिवलाई सचिवले, प्रत्येक सचिवलाई मन्त्री र प्रत्येक मन्त्रीलाई प्रधानमन्त्रीले अनुगमन गर्ने व्यवस्था मिलाइएको प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले बताउनुभयो । 

मोबाइल एप बन्नै बाँकी 

सबै मन्त्रालयमा पोर्टल जडानको काम सकिएको र मोबाइल एप डेभलप गर्ने काम भने भइरहेको प्रधानमन्त्री कार्यालयका प्रवक्ता कुँवरले जानकारी दिनुभयो । 

मन्त्रालयका सचिव र कर्मचारीहरुलाई पोर्टलमा विवरण भर्ने बारेमा जानकारी गराउने काम अहिले सकिएको भन्दै उहाँले अब मोबाइल एप बनाउने काम पनि अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । मन्त्रालयहरुले पोर्टलमा भरेका विवरण अहिले प्रधानमन्त्री कार्यालयका सम्बन्धित शाखाका अधिकृत बाहेक अन्यले हेर्न नमिल्ने गरी राखिएको छ । अहिले परीक्षणकै क्रममा रहेकाले यसको पूर्ण प्रयोग केही दिनपछि सुरु हुने प्रवक्ता कुँवरले बताउनुभयो । 

मन्त्रालयले कुन महिनामा के काम गर्ने भनेर पहिले नै बुझाएका प्रतिबद्धता अनुसार काम भए नभएको पोर्टलमा हेर्न सकिने व्यवस्था मिलाइएको छ । मन्त्रालयको प्रगति विवरण राख्ने काम डिजिटल रुपमा सुरु भएपछि कागजी रुपमा तयार पार्नुपर्ने झण्झटबाट पनि अब मन्त्रालय मुक्त हुने भएको छ ।  

समीक्षा अझै भएको छैन  

मन्त्रालयले अहिले पोर्टलमा आ–आफ्ना प्रगति विवरण राखिरहेका छन् । प्रगति विवरण राख्ने काम कस्तो भइरहेको छ ? यसले सहजता ल्यायो कि ल्याएन भनेर मन्त्री र मन्त्रालयका सचिवलाई एकै ठाउँमा राखेर छलफल भने हुन सकेको छैन ।  

प्रधानमन्त्री अस्वस्थ हुनु भएकाले ढिलाई भएको र अब छिट्टै समीक्षा बैठक बस्ने प्रवक्ता कुँवर बताउनुहुन्छ । 

सकेसम्म तिहार अघि र नभए अर्को महिना बैठक बस्ने कुँवरले बताउनुभयो । ‘अर्को महिना आर्थिक वर्ष २०७५/०७६ को पहिलो चौमासिक पनि पुग्ने भएकाले चौमासको प्रगति विवरण के कति भयो भनेर सामूहिक बैठक बस्ने कि भन्ने पनि हामी अनौपचारिक सल्लाहमा छौं, उहाँले भन्नुभयो ।’ अहिले नै समय तय भैनसकेको भन्दै उहाँले सकेसम्म तिहारपछि नभए अर्को महिनामा समीक्षा बैठक बस्ने बताउनुभयो ।   

अन्तिम अपडेट: बैशाख १२, २०८१

नवराज फुयाँल

फुयाँल सञ्चारकर्मी हुनुहुन्छ । उहाँ राजनीति, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउनु हुन्छ। 

तपाईको प्रतिक्रिया