लाओससँगकाे खेलमा रङ्गशाला भरिने कप्तान चेम्जाेङकाे अपेक्षा

 असोज २४, २०८० बुधबार १८:३४:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान तथा गोलकिपर किरण चेम्जोङले लाओससँगकाे खेलमा रङ्गशालामा उपस्थित हुन अनुरोध गर्दै ‘रातो र चन्द्र सूर्य’ को गीतले ९० मिनेट नै गुञ्जयमान बनाउन दर्शकलाई अनुरोध गरेका छन् ।

नेपालले फिफा विश्वकप २०२६ छनोटको प्रारम्भिक चरणको खेलमा नेपालले भाेलि बिहीवार बेलुकी साढे ५ बजे त्रिपुरेश्वरकाे दशरथ रङ्गशाला लाओससँग खेल्दैछ । त्यही खेलका लागि आज बुधवार कुपण्डोलमा भएको 'प्रि–म्याच कन्फ्रेरेन्स' मा नेपाली फुटबल टोलीका कप्तान चेम्जाेङले रङ्गशाला नै भरिने गरी खेल हेर्न आउन दर्शकलाई आग्रह गरेका हुन् ।

घरेलु मैदानमा लाओससँगकाे खेल केही फरक हुने चेम्जोङको अपेक्षा छ । नेपालका ठूल्ठूला झण्डा देख्न पाउने अपेक्षा गर्दै उनले दर्शकसँगै सबै जना मिलेर राष्ट्रिय गीत गाउने समेत बताए ।

कप्तान चेम्जाेङले टोलीको तयारी राम्रो भएकाले लाओसको सामना गर्न तयार रहेको पनि उल्लेख गरे । लामो समयदेखि राम्रो तयारी गरेकाले लाओससँग प्रदर्शन सुखद रहने उनको विश्वास छ । यसअघि नेपालले त्रिदेशीय शृङ्खलामा लाओसलाई हराएको थियो । तर यस पटक लाओसमा धेरै सुधार भएकाले विश्वकप छनोट खेल फरक हुने चेम्जाेङकाे भनाइ छ ।

नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिसेन्जो अल्बर्टो एनेसले लाओसको सामना गर्न उत्साहित रहेको उल्लेख गर्दै यस पटक प्रदर्शनबाट सुधार देखाउने बताए । लाओससँगकाे खेल कति महत्त्वपूर्ण छ भन्ने सबैलाई थाहा भएको उल्लेख गर्दै प्रशिक्षक एनेसले त्यहीअनुसार राम्रो प्रदर्शन गर्ने अपेक्षा गरे । उनले पछिल्लाे दुई महिनाको तयारीले टोली बलियो रहेको बताए ।

नेपालले विश्वकप छनोट प्रारम्भिक चरणको खेलकै लागि म्यानमारसँग दुई वटा खेल खेलेको थियो । लामो समयदेखिको तयारीका कारण नेपाली टोलीले राम्रो गर्ने प्रशिक्षक एनेसको विश्वास छ । बिहीवारकाे खेलका लागि सबै खेलाडी शारीरिक र मानसिक रूपमा तयार रहेकाे उनले बताए । घरेलु मैदानको फाइदा लिँदै राम्रो प्रदर्शन गर्नेमा उनी विश्वस्त छन् । गएकाे मार्चमा नेपालले थ्री नेसन्स लिगमा लाओससँग प्रतिस्पर्धा गरेकाे थियाे । त्यति बेला र अहिले परिस्थिति निकै परिवर्तन भइसकेको एनेसकाे भनाइ छ ।

लाओसका प्रशिक्षक कानलेया सिसोमभाङले युवा र अनुभवी खेलाडी सम्मिश्रण रहेको यो टोली पछिल्लो थ्री नेसन्सको भन्दा बलियो रहेको बताए ।

यसैबीच अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले विश्वकप छनोटको प्रारम्भिक चरणको खेलका लागि २३ सदस्यीय टोली घोषणा गरेको छ ।

यस्ताे छ नेपाली टाेली–

गाेलकिपर : किरणकुमार लिम्बु, दीप कार्की, अभिषेक बराल

डिफेन्डर : सनिश श्रेष्ठ, अनन्त तामाङ, आशिष गुरुङ, राेहित चन्द, अञ्जन राई, आशिष चाैधरी, अमृत श्रेष्ठ, एरिक विष्ट

मिडफिल्डर : सुदीप गुरुङ, लकेन लिम्बु, आवास लामिछाने, उत्सव राई, कृतिशरत्न छुन्जु, मनिष डाँगी

फरवार्ड : अञ्जन विष्ट, आयुष घलान, जिलेस्पीजङ्ग कार्की, दिनेश हेन्जन, हिसुब थपलिया, सञ्जीव विष्ट

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया