राजनीति गर्नेहरूलाई दबाब, तनाव र चुनाैती धेरै हुन्छ : प्रधानमन्त्री प्रचण्ड

 असोज २६, २०८० शुक्रबार १८:५४:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजनीति गर्नेहरूलाई दबाब, तनाव र चुनौती धेरै हुने बताउनुभएको छ ।

आज शुक्रवार प्रधानमन्त्री निवास बालुवाटारमा मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा २०८० को उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताउनुभएको हो । उहाँले आफू अहिले दबाब, तनाव र चुनौतीको बीचमा रहेको बताउनुभयो । समाज भनेको राजनीति मात्रै नभएकाे उहाँकाे भनाइ छ ।

उहाँले भन्नुभयो, ‘हामी राजनीति गर्नेहरू, अझ जिम्मेवारीमा भएकाहरूलाई राजनीतिकै दबाब, तनाव, एक खालको चुनौतीको बीचमा रहनुपर्ने हुन्छ । आज पनि मेरो दिन त्यस्तै छ । यस्तो बीचमा मानव सेवा आश्रमले यस वर्षको चाडपर्वमा कसैले सडकमा बस्नु नपरोस् भनेर जुन अभियान चलाउँदै हुनुहुन्छ, यसबाट सन्तोष, तनावमुक्त भएको जस्तो लागेको छ । समाज भनेको राजनीति मात्रै होइन, अरू पनि पक्ष छन् जस्तो लागेको छ ।’

कार्यक्रममा उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले देशलाई सडक मानवमुक्त घोषणा गर्ने कुरामा सरकार प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले सबै मिलेर सडक मानवमुक्त देश बनाउनुपर्ने बताउनुभयो ।

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले मानव सेवाले राम्रो काम गर्दै आइरहेको बताउनुभयो । मानव सेवामा लाग्ने व्यक्ति पूजनीय भएको भन्दै उहाँले यात्राको सफलताको शुभकामना पनि दिनुभयो ।

अर्का वरिष्ठ कलाकार हरिवंश आचार्यले मानव सेवाजस्तो पुण्यको काम कतै नभएको बताउनुभयो । उहाँले सडकमा बसेका असहाराको सहयोगी बन्नु जत्तिकाे ठूलो काम अन्यत्र नभएको बताउनुभयो ।

अन्तिम अपडेट: जेठ ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया