ठेकेदारको बचाउ गर्ने प्रदेश १ का मन्त्री कार्कीविरुद्ध ज्यान मार्ने धम्की दिएको भन्दै उजुरी

 कात्तिक १८, २०७५ आइतबार १४:५९:६ | सुश्मा राजवंशी
unn.prixa.net

फाइल फाेटाे

झापा – प्रदेश नम्बर १ का आन्तरिक मामिला मन्त्री हिक्मत कार्कीले ज्यान मार्ने धम्की दिएको भन्दै एक व्यक्तिले झापाको गौरादह इलाका प्रहरी कार्यालयमा उजुरी दिएका छन् ।

मन्त्री कार्कीले फोनमार्फत ज्यान मार्ने धम्की दिएको भन्दै गौरादह २ का टंक खनालले कार्कीविरुद्ध उजुरी दिएका हुन् । गौरादह बजारबाट वडा नम्बर ९ जोड्ने बाटो निर्माणमा ठेकेदारले लापरबाही गरेको भन्दै स्थानीयवासी आन्दोलीत बनेका थिए ।

त्यसै क्रममा ठेकेदारलाई दवाव दिन स्थानीयहरुले निर्माण कार्य अवरुद्ध बनाएपछि मन्त्रीले फोन गरेर आफूलाई धम्की दिएको खनालको बयान छ । आफूले प्रहरी कार्यलयमा उजुरी दिन जाँदा पनि उजुरी लेख्न नमानेको र पछि प्रहरी नायव निरीक्षक सुरेन्द्र श्रेष्ठले उजुरी लिए पनि दर्ता नगरी गोजीमा हालेको खनाले गुनासो गर्नुभयो । खनाल समान्य टेम्पो चालक हुनुहुन्छ । बाटो निर्माणमा ठेकेदारले लापरबाही गरेको भन्दै विरोध गर्दा उहाँ पनि संलग्न हुनुहुन्थ्यो ।

यसअघि बुधबार दिउँसो टेम्पो चालक सचेन कार्कीको नेतृत्वमा आधा दर्जन व्यक्तिले खनालको घर घेरेका थिए । आफूलाई प्रदेश मन्त्री कार्कीको संरक्षण रहेको भन्दै उनीहरुले धम्की दिएको खनालले बताउनुभएको छ । गौरादह बजारबाट वडा नं ९ जोड्ने बाटो निर्माणको ठेक्का पाएको निर्माण कम्पनी नागार्जुन–विष्णु जेभीले बाटो अलपत्र छोडेर हिँडेकोले ठेकेदारलाई कारबाही वा ठेक्का रद्द गर्नुपर्ने स्थानीय नागरिकले माग गर्दै आएका छन्  ।
 

 

अन्तिम अपडेट: बैशाख १५, २०८१

सुश्मा राजवंशी

झापामा बसेर पत्रकारिता गर्ने सुश्मा राजवंशी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया