नेता तथा निर्देशक डीबी परिहारबारेको पुस्तक प्रकाशित

 जेठ २६, २०७५ शनिबार १९:४९:५१ | उज्यालो सहकर्मी

नेपाली राष्ट्रिय कांग्रेसका संस्थापक नेता तथा नेपाली भाषामा बनेको पहिलो चलचित्र सत्य हरिशचन्द्रका निर्देशक डीबी परिहारका बारेमा पुस्तक तयार भएको छ ।
काठमाडौंमा शनिवार आयोजित एक कार्यक्रममा परिहारको भारतको स्वतन्त्रतादेखि नेपालको प्रजातन्त्रसम्मको अँग्रेजी अनुवाद ‘फ्रम इण्डियाज् फ्रिडम टु नेपाल्स डेमोक्रसी’को लोकार्पण गरिएको हो । 

काठमाडौंको बसन्तपुरमा जन्मेका परिहारको बालापन, उहाँमाथि तात्कालीन राणाशासकहरुले गरेको व्यवहार, भारतको स्वतन्त्र संग्राममा उनको संलग्नताको साथै नेपालको प्रजातान्त्रिक आन्दोलनमा पुर्याएको योगदानबारे पुस्तकमा उल्लेख गरिएको छ । 

पुस्तकको सम्पादन गरेका शंकर तिवारीले भारतको दिल्लीमा रहेको एक पुस्तकालयमा फेला परेको हस्तलिखित मोनोग्राफीलाई परिवारका सदस्यको अनुमति लिएर अनुवाद गर्नुभएको हो । 

पुस्तक लोकार्पण गर्दै नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधिले सरकार दुई तिहाइ बहुमतको आडमा निरंकुशतातर्फ अघि बढ्न थालेको आरोप लगाउनुभयो ।

संबिधान संशोधनको कुरा आउँदा सरकार २ तिहाइको बलमा नयाँ संविधान जारी गर्ने धम्की दिन थालेको भन्दै यसले अधिनायकवादको संकेत गरेको उहाँले बताउनुभयो । 

पुस्तक पब्लिक पोलिसी पाठशालाले प्रकाशन गरेको हो । 


 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया