अर्घा भगवती मन्दिरबाट ५१ वर्षअघि हराएकाे पशुपतिनाथको पञ्चमुखी मूर्ति भेटियो

 कात्तिक ३, २०८० शुक्रबार १६:२२:४० | प्रेमनारायण आचार्य
unn.prixa.net

अर्घाखाँची – अर्घाखाँचीको अर्घा भगवती मन्दिरबाट ५१ वर्षअघि हराएको पशुपतिनाथको पञ्चमुखी मूर्ति भेटिएको छ । २०३० साल वैशाख २५ गते अर्घा भगवती मन्दिरबाट हराएकाे पञ्चमुख भएका शिवकाे मूर्ति आज शुक्रवार बिहान शुभ साइतसँगै वैदिक विधिपूर्वक मन्दिरमा पुनः प्रतिस्थापन गरिएको अर्घा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सरोज भुसालले बताउनुभयाे ।

बाइसे चौबीसे राज्यअन्तर्गत पर्ने अर्घा मन्दिर तथा दरबारमा वैदिक विधिपूर्वक पूजाआजा गरी पञ्चेबाजा बजाएर शुभ साइतमा मूर्ति पुनः प्रतिस्थापन गरिएको पण्डित केशवराज आचार्यले बताउनुभयाे ।

सन्धिखर्क नगरपालिका–९ मा रहेकाे अर्घा दरबार अर्थात् अर्घा भगवती मन्दिरमा पहिले धेरै देवी देवताका मूर्ति थिए । ५१ वर्ष अगाडि मन्दिर फोडेर बहुमूल्य धातुका धेरै मूर्ति चाेरी भएकाे थियाे । मूर्ति हराएपछि खोजी गर्दै जाँदा मुद्दा चलेको थियो । पुनरावेदन अदालत तत्कालीन अञ्चल अदालतमा हराएको मध्येको एक वटा मूर्ति रहेको भन्ने जानकारी प्राप्त भएपछि स्थानीय बुढापाकालाई बुझ्दा पञ्चमुख भएको मूर्ति मन्दिरमा रहेकाे र त्याे मूर्ति पनि हराएको थियो भन्ने जानकारी प्राप्त भएपछि आज शुभ साइतमा प्रतिस्थापन गरिएको अर्घा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भुसालले बताउनुभयाे । मुद्दाको समयमा त्याे मूर्ति अनुसन्धानको सिलसिलामा लगिएको हुन सक्ने र झन्डै चार सय वर्ष पुरानो हुन सक्ने अनुमान छ ।

दशैँमा विशेष पूजाआजा हुने अर्घा भगवती मन्दिरमा देवी भागवत, वेद पाठ पारायण तथा दुर्गा सप्तशती पाठ पनि हुने पण्डित केशवराज आचार्य बताउनुहुन्छ । यसत्ै कोजाग्रत पूर्णिमाका दिन सराये नाच हुने गर्दछ । अर्घाको सराये नाच देशभर प्रसिद्ध छ ।

अहिले अर्घा मन्दिरमा एसियाकै सबैभन्दा ठूलो भगवतीकाे मूर्ति प्रतिस्थापन गरिएको छ । मन्दिरमा १० फिटको बेसमा २१ फिटको मूर्ति राखिएको छ । लुम्बिनीमा आएका पर्यटक तथा अर्घाखाँचीकै धार्मिक पर्यटकीय स्थल सुपा देउरालीमा आएका पर्यटकलाई सदरमुकाम सन्धिखर्क हुँदै अर्घामा लैजान एसियाकै सबैभन्दा ठूलो भगवतीको मूर्ति स्थापना गरिएको हो ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया