'नवप्रवर्तनलाई प्राथमिकतामा राख्दै युवा वैज्ञानिक अनुसन्धान सहयोग कार्यक्रम सञ्चालनमा ल्याइएको छ'

 कात्तिक २३, २०८० बिहिबार १२:२६:३९ | रासस
unn.prixa.net

काठमाण्डाै - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) मार्फत युवा वैज्ञानिक अनुसन्धान सहयोग कार्यक्रम सञ्चालनमा ल्याइएको बताउनुभएको छ।

नास्टको ४६औँ प्राज्ञसभालाई सम्बोधन गर्दै आज प्रधानमन्त्री प्रचण्डले नेपाली युवाहरूको अनुसन्धान क्षमता विकासका लागि अनुकूल वातावरण  निर्माणका लागि चालु आर्थिक वर्षदेखि याे कार्यक्रम सञ्चालनमा ल्याइएको बताउनुभएको हो ।

'आजको युग विज्ञान, प्रविधि र नवप्रवर्तनको हो । देशलाई समुन्नत बनाउन, आर्थिक विकास निम्ति उत्पादनसँग जोड्न र नागरिकको जीवनस्तर उकास्न नवप्रवर्तन एवं नवीनतम प्रविधिको महत्त्वपूर्ण भूमिका रहन्छ भन्ने कसैको विमति रहँदैन', नास्टका कुलपति समेत रहनुभएका प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, 'विज्ञान र प्रविधिको अनुसन्धानमा सक्रिय रहेर, अनुसन्धानकर्तासँग सहयोग र सहकार्यमार्फत विज्ञान र प्रविधिको विस्तारलाई प्रवर्द्धन गर्दै जे–जति गर्नुभएको छ, नास्ट र यसका सहयात्री संस्थाहरूमा धन्यवाद व्यक्त गर्दछु ।'

उहाँले आफू पनि विज्ञानको विद्यार्थी भएको नाताले विज्ञान तथा प्रविधिका क्षेत्रमा नेपाली वैज्ञानिक प्राविधिज्ञहरूको क्षमता र योगदानबारे अनभिज्ञ नरहेको बताउनु भयाे । नवप्रवर्तनलाई प्राथमिकता दिइ स्वदेशी प्रविधिको विकासमा धेरै काम गर्न नसके पनि अभिलेखीकरण गर्न र त्यसैका लागि केन्द्रित प्रयोगशाला स्थापनाका लागि गरेका प्रयास अनुकरणीय रहेको उहाँको भनाइ थियो ।

उहाँले विज्ञान प्रविधिलाई प्रदेशस्तरमा प्रवर्द्धन गर्न नास्टबाट सबै प्रदेशमा विशिष्टीकृत अनुसन्धान केन्द्र स्थापना गर्ने कार्य प्रारम्भ भइसकेको बताउँदै विज्ञान तथा प्रविधिलाई प्रदेशको आवश्यकता बमोजिमको विकासमा थप मद्दत पुग्न आशा गर्न सकिने धारणा व्यक्त गर्नुभयो ।

कर्मचारी र वैज्ञानिकहरूका गुनासा बिस्तारै सम्बाेधन हुँदै गएको देखेको बताउँदै उहाँले नाष्ट फेरि पनि फरक प्रकृतिको काम गर्ने उद्देश्यले स्थापना भएको विशिष्ट संस्था भएको उल्लेख गर्नुभयो । 'जसको नेतृत्व भर्खर आएको छ, आशा छ लामो समयदेखि यसै संस्थासँग आबद्ध हुनुहुन्छ, कर्मचारीको वृत्तिविकास, पूर्वाधारको निर्माण, प्रयोगशालालाई जीवन्त गराउनुपर्ने दायित्व, राष्ट्रिय आवश्यकताअनुसार तपाईँहरूको क्षमता विकासमा यथेष्ट ध्यान जानेछ भन्ने विश्वास नेपाल सरकारले राखेको छ', उहाँले भन्नुभयो ।

प्रधानमन्त्रीले ४० वर्षमा जम्माजम्मी  चार अर्ब रुपैयाँको बजेटबाट गरिएका विज्ञान, प्रविधि र प्रवर्द्धनात्मक कार्यहरू प्रशंसनीय भएको तर पर्याप्त नभएको उल्लेख गर्दै राज्यको ध्यान अझै विज्ञान र प्रविधिमा केन्द्रित हुन नसकेको स्वीकार गर्नुभयो । उहाँले प्राज्ञिकहरूको सुझाव र सल्लाह एवं बन्दै गरेको विज्ञान, प्रविधि र नवप्रवर्तनसम्बन्धी विधेयकअनुसार देशको रूपान्तरका लागि हातेमालो गर्दै काम गर्न निर्देशित गर्नुभयो ।

उहाँले आफूले हालैको मित्रराष्ट्र चीनको भ्रमणको क्रममा विज्ञान तथा प्रविधिको विकासका लागि पनि आपसी सहयोग अभिवृद्धि गर्ने विषयमा त्यहाँका समकक्षी र अन्य नेताहरूसँग महत्त्वपूर्ण विचार विमर्श भएको जानकारी गराउनुभयो । त्यसका लागि नेपाललाई अहिलेको परिप्रेक्ष्यमा विज्ञान प्रविधिको विषय विधामा बढी जोड दिनुपर्ने उहाँले बताउनुभयो ।

यसको स्पष्ट अवधारणापत्र भएमा सहकार्य लागि उचित पहल नेपाल सरकारले गर्ने विश्वास दिलाउँदै उहाँले वैज्ञानिकहरूले देशको आवश्यकतालाई समेट्ने खालका परियोजना प्रस्तावहरू तयार गर्न जागरूक हुन आग्रह गर्नुभयो ।

अन्तिम अपडेट: जेठ ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया