यूएईमा हुने जलवायु सम्मेलनमा प्रधानमन्त्रीको नेतृत्वमा नेपालले सहभागिता जनाउने

 कात्तिक २४, २०८० शुक्रबार ७:३७:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - यूएईमा हुने जलवायु सम्मेलनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा नेपालले सहभागिता जनाउने भएको छ ।

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (यूएनएफसीसीसी)का पक्ष राष्ट्रहरुको २८औँ सम्मेलन (कोप–२८) यूएईको दुबईमा मंसिर १४ देखि २६ गतेसम्म हुँदैछ । वन तथा वातावरण मन्त्रालयले उच्चस्तरीय प्रतिनिधिमण्डलको सहभागितालाई प्रभावकारी बनाउन तयारी थालेको छ ।

कोप–२८ मा नेपालको तयारी अवस्था र सुझाव सङ्कलन कार्यक्रममा प्रधानमन्त्रीका विकास व्यवस्थापन विज्ञ डा. पपुलर जेन्टलले सम्मेलनमा प्रधानमन्त्री प्रचण्डकाे सहभागिता हुनेबारे जानकारी दिनुभयो । प्रधानमन्त्रीको नेतृत्वमा मन्त्रीलगायत विज्ञसम्मिलित रहेको प्रतिनिधिमण्डलले सम्मेलनमा भाग लिनेछ ।

सबै क्षेत्रबाट सुझाव सङ्कलन गरी नेपालले प्रस्तुत गर्ने स्थितिपत्रलाई अन्तिम रुप दिइने विकास व्यवस्थापन विज्ञ जेन्टलले बताउनुभयो । सम्मेलनको पूर्व सन्ध्यामा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपाल भ्रमण गर्नुभएको थियो । यसले नेपालको जलवायुका मुद्दालाई धेरै उचाइमा पुर्याएको विज्ञको भनाइ छ ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा. प्रभु बुढाथोकीले आयोगले आउँदाे पञ्चवर्षीय योजना बनाउँदा जलवायुको अवधारणाअनुसार बनाउन प्रयास गरिरहेको बताउनुभयो । वन मन्त्रालयका सचिव डा. दीपक खरालले प्रधानमन्त्रीले सम्मेलनको उद्घाटन सत्रमा हुने दुई दिनको उच्चस्तरीय सत्रमा भाग लिनुहुने र नेपालका मुद्दाका बारेमा सम्बोधन गर्नुहुने जानकारी दिनुभयो । नेपालबाट अहिलेसम्म तीन वटा सम्मेलनमा राष्ट्र तथा सरकार प्रमुख स्तरबाट सहभागिता भएको छ ।

सन् २००९ मा डेनमार्कको कोपहेगनमा भएको १५औँ सम्मेलनमा तत्कालीन प्रधानमन्त्री माधव नेपाल, सन् २०१८ मा पोल्यान्डमा भएको २४औँ सम्मेलनमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारी र सन् २०२१ मा संयुक्त अधिराज्यको स्कटल्यान्डमा भएको २७औँ सम्मेलनमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमण्डलले सहभागिता जनाएको थियो ।   

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया