तिहारमा मौसम सफा रहने

 कात्तिक २४, २०८० शुक्रबार १५:५०:३ | रासस
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – अहिले देशभर पश्चिमी वायुको प्रभाव कायमै रहेकाले अझै दुई दिन देशका कतिपय ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार आज र भोलि कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा बदली रही वर्षाको सम्भावना रहेको छ । साथै देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक/दुई ठाउँमा हल्का हिमपातको सम्भावना रहेको उहाँले बताउनुभयो ।

मौसमविद् अधिकारीले पश्चिमी वायुको प्रभावले दुई दिन मौसम प्रतिकूल रहे पनि तिहारको समयमा सामान्यतया सफा रहने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘पश्चिमी वायुको प्रभावले सुदूरपश्चिम प्रदेशमा भोलिसम्म हल्का बादल लाग्ने देखिन्छ । त्यसपछि मौसम राम्रै रहने देखिन्छ । अहिले कुनै ठूलो मौसमी प्रणाली भित्रिने सम्भावना नभएकाले तिहारमा मौसम सामान्यतया सफा रहनेछ ।’

महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा अहिले सुदूरपश्चिम प्रदेशलगायत पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागको मौसम आंशिक बदली रहेको जनाइएको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक/दुई ठाउँमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । 

साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भेगका केही ठाउँ र बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका एक/दुई ठाउँमा हल्का हिमपातको सम्भावना रहेको छ ।

तापक्रम घट्दै : चिसो बढ्दै

पछिल्ला दिनमा क्रमिक रूपमा तापक्रम घट्दै गएकाले आउँदा दिनमा चिसो बढ्दै जाने महाशाखाले पूर्वानुमान गरेको छ । ‘तापक्रम क्रमिक रूपमा घट्दै गएको छ । चिसो बढिरहेको छ’, मौसमविद् अधिकारीले भन्नुभयो ।

तापक्रम अझै घट्ने सम्भावना रहेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । आज काठमाण्डाैकाे अधिकतम तापक्रम २३ र न्यूनतम तापक्रम नाै डिग्री सेल्सियस रहेको छ ।

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया