गाउँपालिकाको आम्दानीको स्रोत बन्दै फूलखेती

 कात्तिक २५, २०८० शनिबार २०:३५:१९ | राधाकृष्ण डुम्रे
unn.prixa.net

स्याङजा – स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले फूलखेतीमा पालिकावासीलाई आकर्षित गर्न आफैँले पनि फूलखेती गर्दै आएको छ । पालिकाले यसबाट राम्रो आम्दानी समेत गर्न सफल भएकोे छ। 
फूलखेतीका माध्यमबाट पालिकावासीलाई रोजगारी दिने र आर्थिक लाभ गराउने उद्देश्यसहित गाउँपालिकाले गएको वर्ष आफैँले फूलखेती थालेको थियो । परीक्षणका लागि गरिएको फूल खेतीबाट पालिका र यहाँका कृषकले गरी १८ लाख रुपैयाँ आम्दानी गरेको कृषि शाखाका प्रमुख अनुप पौडेलले जानकारी दिनुभयो ।

यस वर्ष गाउँपालिकाले करिब १५ रोपनी क्षेत्रफलमा र अन्य कृषक समूह तथा व्यक्तिको ३५ रोपनी जमिनमा सयपत्री फूलखेती गरिएको गाउँपालिकाका अध्यक्ष खीमबहादुर थापाले बताउनुभयो । गाउँपालिकाले वडा नम्बर ४ को बिर्घा पुछारमा करिब १५ रोपनीमा व्यावसायिक फूल खेती गर्नका लागि व्यवस्थित नर्सरी नै सञ्चालन गर्दै आएको अध्यक्ष थापाले बताउनुभयो ।

पालिकाले फूलको व्यावसायिक उत्पादनतर्फ आकर्षित गर्न किसानलाई ५० प्रतिशत अनुदान उपलब्ध गराउँदै आएको छ । पालिकाको अनुदानसँगै कृषक सयपत्री फूलखेतीतर्फ आकर्षित हुँदै आएका छन् । जसका कारण यतिबेला पालिका नै सयपत्री फूलले पहेँलै भएको छ । गाउँपालिकाले प्रतिरोपनी नौ हजारका दरले अनुदान उपलब्ध गराएको छ ।

अध्यक्ष थापाका अनुसार १६ जना कृषक तथा समूहले कम्तीमा दुई/दुई रोपनी क्षेत्रमा फूल लगाएका छन् । जसबाट उनीहरुले प्रतिव्यक्ति १८ हजार रुपैयाँ अनुदान समेत पाएका छन् । पालिकाका सातवटै वडाका तीन महिला समूह, एक घरबास (होमस्टे) र कृषक समूह छनौट भएका हुन् भने अन्य व्यक्तिहरु छनौट भएका छन् ।

उत्पादित फूल तथा माला कृषक समूह वा कृषकले आफैँ बिक्री गर्न पनि सक्ने तर बिक्री नभएमा गाउँपालिकाले बजारीकरणको व्यवस्था मिलाएका कारण पनि कृषकहरुको फूलखेती प्रति आकर्षण बढेको अध्यक्ष थापाको भनाइ छ ।

पालिकाले नर्सरी राखेको स्थानमा नै सबै कृषक समूह तथा व्यक्तिलाई बोलाइ प्राविधिक ज्ञान, नर्सरी स्थापना, औषधि, बीउ तथा आधुनिक औजार उपलब्ध गराइएको प्रमुख प्रशासकीय अधिकृत पर्शुराम पोख्रेल उपाध्यायले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘कृषक समूह तथा व्यक्तिले यहाँ सिकेका सीपलाई आआफ्नो ठाउँमा प्रयोग गर्नुभएको छ, जसको कारण यस बर्ष पनि राम्रो आम्दानी हुने अवस्था आएको छ ।’

गाउँपालिकाले यसवर्ष सयपत्री कर्मा ५५५ जातको बीउ लगाएको छ । जसको एउटा बोटबाट चार सय वटासम्म फूल उत्पादन हुने र विभिन्न चरणमा आगामी चैतसम्म टिप्न सकिने उहाँको भनाइ छ । फूलको व्यावसायिक उत्पादन गर्न सकेको खण्डमा आर्थिक उपार्जन गर्न सकिने, खेर गइरहेको जमिनको सही सदुपयोग हुने, फूलको माध्यमबाट पालिकाको पहिचान स्थापित गर्न सकिनुका साथै यहाँको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने पालिकाको विश्वास छ ।

कृषकहरुले अहिले फूलको बजारीकरणको काम गरिरहेका कृषि शाखा प्रमुख पौडेलले बताउनु भयो । विभिन्न ठाउँबाट फूलको अर्डर लिने र त्यही अनुसाार कसले कहाँ पठाउने भन्ने तयारी भइरहेको पौडेलको भनाइ छ । उहाँका अनुसार पालिकाले यसमा समन्वय गरिरहेको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राधाकृष्ण डुम्रे

स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया