जनशक्ति अभावका कारण प्रदेश सरकारले काम गर्न सकेन : मुख्यमन्त्री राउत

 कात्तिक २०, २०७५ मंगलबार १९:२९:५२ | धनवीर महतो
unn.prixa.net

महोत्तरी – प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले आवश्यक जनशक्तिको अभावको कारण प्रदेश सरकारले सोचेअनुसारको कामकाज गर्न नसकेको बताउनुभएको छ ।

मंगलबार गौशाला नगरपालिका ११ मा संघीय समाजवादी फोरम नेपालले आयोजना गरेको शुभकामना अदानप्रदान कार्यक्रमकाबीच मुख्यमन्त्री राउतले प्रदेशमा ५ हजार जनशक्तिको अभाव रहेको समयमा संघीय सरकारले २५ सयको हराहारीमा कर्मचारी पठाएकोले त्यो कर्मचारीले सन्तोषजनक रुपमा कार्यसम्पादन गर्न सम्भव नभएपछि प्रदेश सरकारले थप कर्मचारी भर्ना गर्न लागेको जानकारी दिनुभयो ।

मुख्यमन्त्री राउतले वर्तमान समयमा मदरसा शिक्षालाई रुपान्तरित गर्नुपर्नेमा जोड दिनुभयो । वर्तमान समयमा अब मदरसामा पनि नेपाली, विज्ञान, गणित, अंग्रेजीजस्ता विषयलाई समावेश गरी त्यहाँबाट वैज्ञानिक, इञ्जिनियर, डाक्टर उत्पादन हुने किसिमको शिक्षा दिनुपर्ने आवश्यक रहेको धारणा राख्नुभयो ।

मुख्यमन्त्री राउतले समाज परिवर्तनका लागि असहाय, गरिब, विपन्न र दलित समुदायको शैक्षिकस्तरमा सुधार गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । मुख्यमन्त्री राउतले समाजले महिलालाई समान व्यवहार नगरेकोले प्रदेश सरकारले ‘बेटी पढाऔं, बेटी बचाऔं’ अभियान ल्याएको र अब सरकारले बेटीहरुलाई क्षमताअनुसार रोजगारीको समेत ग्यारेन्टी गरिने आश्वासन दिनुभयो ।

कार्यक्रमकाबीच प्रदेश नम्बर २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले प्रदेशभरि नै शान्ति सुरक्षा स्थापना गर्नका लागि मोबाइल एप्स ल्याएको जानकारी दिनुहुँदै आउँदो एक वर्षको अवधिमा प्रदेश नम्बर २ को सुरक्षालाई चुस्त दुरुस्त बनाइने प्रतिबद्धता जनाउनुभयो ।

त्यसै कार्यक्रमकाबीच संघीय सरकारका स्वास्थ्य राज्यमन्त्री डाक्टर सुरेन्द्रकुमार यादवले नेपालको हरेक वडामा स्वास्थ्य चौकी स्थापना गर्ने नेपाल सरकारको अवधारणा रहेको जनाउनुभएको छ ।

कार्यक्रमकाबीच प्रदेशसभा सांसद कौशलकुमार यादव, सोनमा गाउँपालिकाका प्रमुख राजकुमार यादव, गौशाला नगरपालिकाका मेयर शिवनाथ महतो, पार्टीका लक्ष्मी महतो लगायतका पार्टीका कार्यकर्ताहरुले कार्यक्रमलाई सम्बोधन गर्नुभएको थियो । 

अन्तिम अपडेट: बैशाख १०, २०८१

धनवीर महतो

धनवीर महतो महोत्तरीकाे उज्यालो सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया