सङ्क्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्याउन पहल गरिरहेको छु : प्रधानमन्त्री प्रचण्ड

 मंसिर २४, २०८० आइतबार १३:३७:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पुर्याउन आफूले लगातार पहल गरिरहेको बताउनुभएको छ । 

७५औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसर पारेर आइतवार ललितपुरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले पीडितलाई न्यायको अनुभूति हुनेगरी सङ्क्रमणकाललाई निष्कर्षमा पुर्याउन आफूले आम राष्ट्रिय सहमति बनाउनका लागि पहल गरिरहेको बताउनुभएको हो ।

सङ्क्रमणकालीन न्याय टुङ्गोमा पुर्याउन ढिलो भइरहेको स्वीकार गर्दै उहाँले विद्यमान कानुनमा सर्वोच्च अदालतको आदेश, राष्ट्रिय मानव अधिकार आयोगका सुझाव तथा सिफारिस र अन्तर्राष्ट्रिय मापदण्ड बमोजिम परिमार्जन गरी न्यायको अनुभूति हुनेगरी याे कार्यलाई छिट्टै निष्कर्षमा पुर्याउने प्रतिबद्धता पनि दोहोर्याउनु भयो । प्रधानमन्त्री प्रचण्डले देशमा मानव अधिकार संस्कृतिको विकास गर्न सरकार सदैव लागि परेको समेत बताउनु भयो ।

प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय मानव अधिकार आयोग ऐनसम्बन्धी विधेयक संसद्का आउँदाे अधिवेशनमा पेस गर्ने आश्वासन समेत दिनुभयो । उहाँले जलवायु परिवर्तनका कारण मानव अधिकारका सबै आयामहरु जोखिममा परेकाले त्यसविरुद्ध जुध्ने र अनुकूलनका लागि वातावरण सिर्जना गरी मानव अधिकारको रक्षा गर्न सरकार संवेदनशील ढङ्गले लागि परेको पनि बताउनु भयो ।

प्रधानमन्त्री प्रचण्डले सङ्घीय संरचनाअनुसार राष्ट्रिय मानव अधिकार आयोगको संरचना तयार पार्न पनि सरकार लागि परेको बताउनु भयो । प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय मानव अधिकार आयोगको सिफारिस तथा सुझाव कार्यान्वयनमा जोड दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया