रामेछापमा दूई समूहबीच झडप : ८ जना घाइते,  दुईको अवस्था गम्भीर

 कात्तिक २४, २०७५ शनिबार १३:३७:६ | दीपक भट्ट

रामेछाप –  मन्थली नगरपालिका वडा नम्बर–७, भटौलीमा शुक्रबार राति दुई समूहबीच झडप हुँदा ८ जना घाइते भएका छन् । 

झडपमा परि घाइते हुनेहरुमा सन्तोष माझी, सोममाया माझी, पूर्णवहादुर माझी, समिर माझी, चन्द्रमाया माझी, मिलन माझी, सन्तोष माझी र खेमवहादुर माझी रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । 

घाइते सबैलाई उपचारका लागि काठमाडौं पठाइएको छ । घाइतेमध्ये पूर्णबहादुर माझी र सोममाया माझीको अवस्था चिन्ताजनक रहेको छ । उनीहरु दुवैको अहिले काठमाडौंमा रहेको नर्भिक अस्पतालमा आईसीयूमा उपचार भइरहेको र उपचारका लागि खर्च जुटाउन समस्या भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजेन्द्रकुमार थापाले जानकारी दिनुभयो । उहाँका अनुसार घाइते दुवैको टाउँकोमा गम्भिर चोट लागेको छ । उनीहरुको उपचारका लागि तत्काल ५ लाख रुपैयाँ जम्मा गर्नुपर्ने भएकाले पैसा जम्मा गर्ने काममा आफू लागि परेको थापाले बताए । 

घटनापछि फरार रहेका त्यही गाउँका बलबहादुर माझी, चित्रे माझी, दिलीप माझी, भक्तवहादुर माझी, बमबहादुर माझी, जय माझी, सोमबहादुर माझी र विष्णु माझीलाई प्रहरीले शनिबार दिउँसो पक्राउ गरेको छ । उनीहरुमध्ये ४ जनालाई सिन्धुली जिल्लाको खाल्टेमा पक्राउ गरेको हो भने अन्य ४ जनालाई आफ्नै गाउँमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरी अहिले जिल्ला प्रहरी कार्यालय रामेछापको हिरासतमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । 

सदरमुकाम मन्थलीबाट झण्डै एक घण्टाको दूरीमा रहेको भटौलीमा गएको वर्ष तिहारमा पनि यस वर्षको जस्तै विवाद भएको थियो । त्यही विषयलाई लिएर यसवर्ष पनि घटना घटेको स्थानियहरुले वताएका छन् । भाइटीका लगाएर देउसी खेल्न गएका उनीहरुलाई बलबहादुर माझीको नेतृत्वमा गएको टोलीले अकस्मात आक्रमण गरेको स्थानियले बताएका छन् । गएको वर्षको घटनामा पनि केही व्यक्ति घाइते भएका थिए । 


 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दीपक भट्ट

दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया