शितगंगाका किसानले यस वर्ष १ कराेड रुपैयाँ अनुदान पाउने

 पुस ६, २०८० शुक्रबार १७:२२:४४ | प्रेमनारायण आचार्य
unn.prixa.net

अर्घाखाँची – अर्घाखाँचीको शितगंगा नगरपालिकाले किसानलाई उत्पादनका आधारमा यस वर्ष एक करोड रुपैयाँ अनुदान वितरण गर्ने भएको छ ।

किसानले उत्पादन आधारमा अनुदान रकम पाउन सकून् र कागजकै भरमा अनुदान लिने परिपाटी बन्द हाेस् भनेर अनुदान वितरण गर्न लागेकाे नगरपालिकाले जनाएकाे छ । आफूले उत्पादन गरेको दूध, मासु, तरकारी तथा फलफूलमा अनुदान पाउने भएपछि किसान खुशी भएका छन् ।

किसानले उत्पादन गरेको दूधमा प्रतिलिटर दुई रुपैयाँ, मासुमा प्रतिकिलो ५० रुपैयाँ अनुदान दिने नगरपालिकाका मेयर छविलाल पाैडेलले बताउनुभयाे । यस्तै तरकारी ,केरा, बेसारमा प्रतिरोपनी पाँच हजार तथा कागती, एभोकाडो ,कफी ,किबी लगायतका बिरुवामा प्रतिबिरुवा एक सय रुपैयाँ अनुदान दिने मेयर पाैडेलकाे भनाइ छ ।

उत्पादनमा आधारित अनुदानका लागि एक करोड ३० लाख रुपैयाँ बराबरको सिफारिस नगरपालिकामा आएको छ । नगरपालिकाले कृषि सहकारीको र वडाको सिफारिसमा उत्पादनमा आधारित अनुदान रकम वितरण गर्ने गर्दछ ।

अघिल्ला वर्षहरूमा सहकारीमार्फत रकम दिने गरिएकोमा सहकारीले फर्जी सिफारिस गरेको भन्दै विरोध भएपछि अहिले नगरपालिकाले किसानको खातामा रकम जम्मा गरिदिने भएको छ ।

अनुदानका लागि नगरपालिकाले अहिले वडा र सहकारीको सिफारिसका आधारमा अनुगमन पनि शुरु गरेको छ । अनुगमनका क्रममा सहकारीले सिफारिस गरेका किसानकाे उत्पादन विवरणअनुसार नभएको पाइएको अनुगमनमा सहभागी नगरपालिकाका योजना शाखा प्रमुख नुमलाल खनालको भनाइ छ ।

नगरपालिकाले बिरुवाका आधारमा अनुदान दिने भएपछि बिरुवा लगाएर छाडेर पनि केहीले अनुदान लिने गरेकाे भेटिएकाे छ । लगातार चार वर्षसम्म एकै खेतीकाे बेसारबाट अनुदान लिएकाे पनि भेटिएकाे छ । शितगंगा नगरपालिकाकी उपमेयर गीता भाट नेतृत्वकाे टाेलीले वडा नम्बर ९ मा गरेकाे अनुगमनका क्रममा यस्ताे भेटिएकाे हाे । उमपेयर भाटले किसानलाई उत्पादनमा जोड गरी आम्दानी बढाउन अनुरोध गर्दै उत्पादन भएका कृषि उपज बजारसम्म पुर्‍याउन कृषि सङ्कलन केन्द्र सञ्चालन हुन लागेकाे बताउनुभयाे ।

अनुगमन टाेलीमा उपमेयर भाटसहित नगरपालिकाकाे आर्थिक समितिका संयोजक बोमबहादुर विक,पशु शाखा प्रमुख गणेश थापा, योजना शाखा प्रमुख नुमलाल खनाल, प्राविधिक नारायण पाण्डे लगायतकाे सहभागिता थियाे ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया