तत्कालै हिउँदे वर्षाको सम्भावना न्यून छ : मौसमविद्

 पुस १२, २०८० बिहिबार ८:४:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - हिउँदेबालीको लागि किसानले पानी पर्खिरहेको बेला तत्काल हिउँदे वर्षाको सम्भावना कम देखिएको मौसमविद्ले बताएका छन् । यसपालि हिउँद लागेपछि केही ठाउँमा छिटपुटबाहेक पानी परेको छैन । तराई/मधेसमा अहिले पनि दिउँसोपख गर्मी नै छ ।

जनकपुरमा हिजो उच्चतम तापक्रम ३० दशमलव ५ डिग्री सेल्सियस, विराटनगरमा २७ दशमलव ८ डिग्री, धरानमा २६ दशमलव ८ डिग्री, भैरहवामा २६ दशमलव ६ डिग्री र नेपालगञ्जमा २६ डिग्री सेल्सियस मापन भएको छ । आज बिहान काठमाण्डौकाे न्यूनतम तापक्रम ८ डिग्री सेल्सियस छ । गएको बिहीवार काठमाण्डौमा यस सिजनकै अहिलेसम्मको सबैभन्दा कम न्यूनतम तापक्रम ४ दशमलव ५ डिग्री सेल्सियस मापन भएको थियो ।

सामान्यतया मंसिर १६ गतेदेखि फागुन १७ गतेसम्मलाई हिउँदे वर्षाको समय मानिन्छ । तर, पुसको मध्य हुनै लाग्दा पनि पानी पर्न सकेको छैन । कतैकतै छिटपुटबाहेक पानी नपरेको र चिसो ल्याउने पश्चिमी वायु पनि नरहेको हुँदा मौसम सुक्खा भएको मौसमविद् सरोज पुडासैनीले बताउनुभयो । तत्काललाई पानी पर्ने सम्भावना नरहेको उहाँको भनाइ छ ।

नेपालमा हिउँदको समयमा वर्षा गराउने प्रमुख भूमिका पश्चिमी वायुको हुन्छ । तर अहिले उल्लेखनीय मौसमी प्रणाली नरहेको जल तथा मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ । अबको तीन दिन शनिवारसम्म नै पानी र हिमपातको सम्भावना छैन ।

आज देशका पहाडी क्षेत्रमा मौसम आंशिक बदली रही बाँकी ठाउँमा सामान्यतया सफा नै रहेको छ । जनवरी पहिलो हप्ता अर्थात् आउँदो सोमवारदेखि पानी पार्ने प्रणाली भित्रिन सक्ने मौसमविद्को अनुमान छ । 

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया