अन्तर्राष्ट्रिय उडान पोखरामा हुन सक्दैन भन्ने अधिकार कसले दियो ? : सांसद अधिकारी

 जेठ २७, २०७५ आइतबार १२:५०:० | उज्यालो सहकर्मी

काठमाडौं – सत्तारुढ दलकै सासंदले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नबनाउने खेलमा सरकार लागिरहेको आरोप लगाएका छन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकको विशेष समयमा बोल्दै नेकपाका सांसद खगराज अधिकारीले सरकार भित्रैबाट अन्तर्राष्ट्रिय विमानस्थल नबनाउने खेल भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।

२०३२ सालदेखि जग्गा अधिग्रहण गरेर पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनाउनका लागि काम भइरहेको अवस्थामा एकाएक विज्ञको प्रतिवेदनका नाममा उडानै भर्न नसक्ने भनिएको भन्दै उहाँले आपत्ति जनाउनुभयो ।

‘एकाएक सरकारकै कुनै विशेषज्ञको नाममा नक्कली ढंगले अब अन्तर्राष्ट्रिय उडान पोखरामा हुन सक्दैन भन्ने अधिकार कस्ले दियो ? ती माथि छानविन भएर कारबाही हुन्छ कि हुँदैन ? आज विकास निर्माणका काममा बाधा दिने मन्त्रालयकै कर्मचारीलाई कारबाही हुन्छ कि हुँदैन ?’ , अधिकारीले प्रश्न गर्नुभया ।

नेपाल सरकारबाट एक रुपैयाँ नपाइकन पनि विमानस्थल निर्माणको जिम्मा पाएको कम्पनीले जग्गा सम्याउने  लगायत १५ प्रतिशत काम गरिसकेको समयमा सरकार भित्रैबाट विकास विरोधि एजेण्ड घुसेर गलत प्रचार गरिएको उहाँको आरोप छ ।

 

‘सरकार भित्रै विकास विरोधी एजेण्ट घुसेको छ । विकास विरोधी किराहरुलाई कारबाही गर्ने हिम्मत सरकारले राख्छ कि राख्दैन ?’,  उहाँले भन्नुभयो, ‘को कहाँ बाटको विकास विरोधी एजेण्ड घुसेको छ, त्यस्लाई पत्ता लगाएर कारबाही हुन्छ कि हुँदैन ?’

अन्तर्राष्ट्रिय उडान हुँदैन भनेर प्रतिवेदन दिने मन्त्रालयका कर्मचारीमाथि कारबाही गर्न पनि उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो । ‘विकास विरोधीलाई थुतेर पर्यटन मन्त्रालयले कारबाही गर्ने आँट राख्छ कि राख्दैन ?’, सांसद अधिकारीले प्रश्न गर्नुभयो । गलत प्रचार गरेर नागरिकको मनमा चिसो पानी खन्याउने गम्भीर अपराध भएको भन्दै उहाँले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने विषयमा नागरिकलाई आश्वस्त पार्न आग्रह गर्नुभयो ।

विमानले उडान नै भर्न सक्दैन भनेर गलत सूचना दिनेमाथि गम्भीर रुपमा कारबाही गरी निर्माण कार्य सुरु गर्न उहाँले माग गर्नुभयो ।

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया