पुष्पलाल र बीपीको जन्मस्थानलाई पर्यटनस्थलको रूपमा विकास गर्छु : प्रधानमन्त्री प्रचण्ड

 पुस १९, २०८० बिहिबार १९:३१:२६ | दीपक भट्ट
unn.prixa.net

रामेछाप – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुष्पलाल श्रेष्ठको जन्मस्थान रामेछापको भंगेरी र बीपी काेइरालाको जन्मस्थान सिन्धुलीको दुम्जालाई राजनीतिक पर्यटनस्थलको रूपमा विकास गर्ने बताउनुभएकाे छ ।

आज बिहीवार रामेछापको सुनापति गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्ताे बताउनुभएकाे हाे । उहाँले मध्यपहाडी लोकमार्गको बाँकी काम सम्पन्न गर्न आवश्यक बजेट सङ्घीय सरकारले व्यवस्थापन गर्ने र रामेछापको विकासका लागि पनि सरकारले सक्दो प्रयास गर्ने बताउनुभयाे । संविधान कार्यान्वयनका लागि सरकारले ऐन कानुन बनाएर प्रदेश र पालिकालाई अझ बलियो बनाउने गरी काम भइरहेको उहाँकाे भनाइ छ ।

प्रचण्डले अहिलेको गठबन्धनको सरकार कुनै पनि हालतमा नटुट्ने भन्दै आफ्नो एक वर्षे कार्यकालमा आर्थिक, सामाजिक क्षेत्रमा उल्लेख काम भएकाे दाबी गर्नुभयाे । भारतलाई १० वर्षका लागि १० हजार मेगावाट बिजुली निर्यात गर्ने सहमतिले आज सार्थकता पाएकाे भन्दै बङ्गलादेशमा पनि बिजुली बिक्रीका लागि पहल गर्ने बताउनुभयाे ।

सुनापति गाउँपालिकाको सुविधा सम्पन्न नवनिर्मित भवन झन्डै तीन करोड ४८ लाख ५० हजार रुपैयाँकाे लागतमा बनेकाे हाे । याे भवनमा १० वटा कार्यालय कक्ष र एउटा सभाहल रहेकाे छ ।

प्रधानमन्त्रीले आजै सुनापतिको बेथानमा रहेकाे पानीघाटमा आयोजित २७ औँ बेथान वीरता दिवस, शहीद स्तम्भ उद्घाटन तथा शहीद परिवारका सदस्लाई सम्मानसमेत गर्नुभएकाे थियाे । याे ठाउँमा २०५३ पुस १९ गते बेथान प्रहरी चौकी आक्रमणका क्रममा बेथानका तीर्थ गौतम, फत्तबहादुर स्माली मगर र दिलमाया बम्जनको ज्यान गएको थियो । याे ठाउँमा बनेकाे शहीद पार्ककाे सालिकमा प्रधानमन्त्रीले माल्यार्पण गर्नुभएकाे थियाे । माओवादीले पुस १९ गतेलाई वीरता दिवसको रूपमा मनाउँदै आएको छ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

दीपक भट्ट

दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया