सत्तारुढ गठबन्धन र एमालेबीच राष्ट्रियसभामा सहकार्य हुने सम्भावना कम

 पुस २१, २०८० शनिबार ७:५९:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सङ्क्रमण कालीन न्याय (टीआरसी) विधेयक र राष्ट्रियसभाको सिट भागबण्डाकाे विषयमा सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी एमालेबीच केही दिनदेखि भैरहेको छलफल निष्कर्षविहीन भएको छ । एमालेले राष्ट्रिय सभाका रिक्त १९ वटै सिटमा उम्मेदवार उठाउने निर्णय गरेसँगै सत्ता गठबन्धनका दल सिट बाँडफाँटबारे निर्णायक छलफलमा जुट्दैछन् ।

सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयक पारित गर्न एमालेको सहयोगको सुनिश्चितता खोजेको गठबन्धनले एमालेबाट ठोस प्रस्ताव नआएको भन्दै आपसमै सिट बाँडफाँट गर्न लागेका हुन् । सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक तत्काल पास गर्नुपर्ने प्रस्तावमा एमाले नेतृत्व तयार नभएको गठबन्धन दलका नेताहरुले बताएका छन् ।

एमालेको हिजो बसेको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीले टीआरसी विधेयकमा लेनदेन नगर्ने बताउनुभएको थियो । मानवअधिकारको गम्भीर उल्लङ्घनका घटनामा आममाफी नहुने, सर्वोच्च अदालतको आदेशअनुसार विधेयक संशोधन गर्नुपर्ने र पीडितको सहमतिविना माफी नहुने एमालेको अडान छ ।

पर्सि २३ गते राष्ट्रियसभा चुनावको लागि उम्मेदवार मनोनयन दर्ताको समय भएकाले यसबारे आज र भोलिसम्म सहमति भैसक्नुपर्छ । तर एमालेले हिजो १९ वटै सिटमा उम्मेदवार दिने निर्णय गरेपछि गठबन्धन दलहरुले सिट बाँडफाँट टुङ्गो लगाउन लागेका हुन् । गठबन्धनभित्र कुन दललाई कति सिट छुट्याउने भन्नेबारे सहमति भैसकेको छैन ।

उम्मेदवारको विषयमा पनि दलहरुभित्रको विवाद कायमै छ । नेपाली कांग्रेसले राष्ट्रिय सभाका उम्मेदवारको विषय टुङ्गो लगाउन आज कार्यसम्पादन समितिको बैठक बोलाएको छ । मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बैठक बस्नेछ । 

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया