महंगीमै टर्‍याे चाडपर्व, सरकार भन्छ : अब नियन्त्रण हुन्छ

 कात्तिक २६, २०७५ सोमबार १३:३०:५८ | मदन पौड्याल
unn.prixa.net

काठमाडौं – बबरमहलमा बस्ने भिमबहादुर अधिकारीलाई यसपाली दसैँ, तिहार मनाउन पोहोरभन्दा १० हजार रुपैयाँ बढी खर्च गर्नुपर्‍याे । लत्ताकपडा, खाद्यवस्तु, तरकारी र फलफूलमा चर्को मूल्य तिर्नुपर्दा चाडपर्व महंगो भएको उहाँको गुनासो छ । ‘दैनिक उपभोग्य वस्तु दाल, चामल, नुन, तेल नकिनेर सुखै छैन’ अधिकारीले भन्नुभयो, ‘त्यसमाथि चाडपर्व पनि मनाउनै पर्ने । सबैथोकको भाउ बढेको छ । पोहोरको भन्दा १० हजार बढी नै खर्च भयो ।’ 

अधिकारीको मात्रै होइन, बजार भाउ महंगो हुँदा यस वर्षको दसैँ तिहारमा सबैको खर्च बढ्यो । चिनी, तेल, पिठोको मूल्य दसैँ सुरु नहुँदै बढेको हो । अहिले पनि मूल्य उस्तै छ । मैदा, आँटामा प्रतिकिलो १० देखि १५ र तेलमा प्रतिलिटर १० रुपैयाँ बढेको छ । अहिले खुद्रा व्यापारीले मैदा र आँटा किलोको ६० रुपैयाँसम्ममा बेच्ने गरेका छन् ।

चिनीको भाउ त ठ्याक्कै यति हो भनेर भन्न सकिने अवस्था नै छैन । किलोमा ७० रुपैयाँ देखि ९० रुपैयाँसम्ममा किन्नुपर्ने अवस्था छ । 

प्याज ४८ बाट बढेर ५५ रुपैयाँ पुगेको छ । त्यसैगरी चामल, दाल, तरकारी, फलफूलमा मूल्य बढेको छ । अघिल्लो महिना असोज २५ गते रातो आलु किलोको ६८ रुपैयाँ थियो, अहिले ७ रुपैयाँ बढेर ७५ पुगेको छ । त्यसमाथि पसलैपिच्छे भाउ फरक–फरक छ । काठमाडौं काँडाघारीकी पार्वती कार्कीले गुनासो गर्दै भन्नुभयो ‘७ जनाको परिवार छ । ठूलो परिवारको खर्च पनि ठूलै हुन्छ । त्यसमाथि दैनिक उपभोग्य वस्तुको महंगीले गर्दा दुई छाक टार्न नै गाह्रो भैसक्यो ।’

महंगीमै मुख्य चाड दसैँ, तिहार सकियो । छठ पर्व सुरु भएको छ । छठका लागि चाहिने सरसामान पनि महंगोमै किन्नुपर्ने बाध्यता छ । बजार अनुगमन प्रभावकारी नहुँदा मूल्य बढेको उपभोक्ताको गुनासो छ ।

मुख्य चाडपर्व अगाडि बजार अनुगमनको चर्चा धेरै नै हुने गर्छ । फाट्टफुट्ट अनुगमन र केही व्यापारीलाई कारबाही पनि हुन्छ । यसपाली पनि मासु पसल, भाटभटेनी सुपर मार्केट सहित केही व्यापारीलाई कारबाही भएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनको भनाई छ । तर बजारमा भैरहेको मूल्यवृद्धिमा खुद्रा व्यापारीले थोक व्यापारीलाई दोष लगाएर उम्किन्छन् । अनि थोक व्यापारीले डलर र इन्धनको भाउ बढेको भनेर गुनासो गर्छन् । 

बजारमा मूल्य बढेको, गुणस्तरहीन वस्तु बेचविखन भए÷नभएको, तौल पुगे÷नपुगेको हेर्ने र अनुगमन गर्ने निकाय पनि अरुलाई नै दोष देखाउँछन् । तर उपभोक्ताको एउटै गुनासो हुन्छ बजार नियन्त्रण गर्ने जिम्मेवार निकाय कानमा तेल हालेर बसेको छ । 

अत्यावश्यक वस्तु चाडपर्वमा मात्रै किनबेच हुने होइन । चाडपर्वमा माग धेरै हुने मात्रै हो । माग बढी हुने मौका छोपेर व्यापारीले मूल्यवृद्धि गर्ने गरेका छन् । चाडपर्व सकिएलगत्तै अनुगमनको काम सुस्ताउने पुरानै प्रवृत्ति हो । 

सोचेअनुसार नै बजार अनुगमन हुन नसके पनि उपभोक्तालाई राहत दिने गरी दुई उपायबाट बजार मूल्य नियन्त्रण गर्ने काम भैरहेको महानिर्देशन गौचनको दावी छ । अहिले देशका ६२ ठाउँमा सुपथ पसल सञ्चालन भएका र ती पसल २७ गतेसम्म सञ्चालन हुने गौचनले बताउनुभयो । 

त्यस्तै विभागले नियमित अनुगमन र दोषीलाई कारबाही गर्दै आएको र यसलाई निरन्तरता दिने उहाँको भनाई छ ।

अन्तिम अपडेट: चैत १५, २०८०

मदन पौड्याल

उज्यालोमा कार्यरत मदन पौड्याल राजनीति, प्रशासन र समसामयिक विषयमा कलम चलाउनु हुन्छ। पौड्यालको भूकम्पपछिको पुनर्निर्माणमा दख्खल छ।  

 

तपाईको प्रतिक्रिया