पर्याप्त मात्रामा स्तनपान गराए बालबालिकालाई निमोनियाबाट जोगाउन सकिन्छ : चिकित्सक

 कात्तिक २६, २०७५ सोमबार १८:३६:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – चिकित्सकहरुले निमोनिया रोग लाग्न नदिन बालबालिकाहरुलाई पर्याप्त स्तनपान गराउन सचेत गराएका छन् । 

चिकित्सकहरुले निमोनिया .विरुद्धको खोप बालबालिकाहरुलाई नियमित लगाउन सके निमोनिया रोगबाट बच्न सकिने पनि स्पष्ट पारेका छन् । विश्व निमोनिया दिवसको अवसर पारेर सोमबार वरिष्ठ चिकित्सक अरुणकुमार शर्माले निमोनिया रोगबाट बालबालिकालाई बचाउन पर्याप्त स्तनपान गराउन सबैलाई सचेत गराउनुभयो । उहाँले यस रोगको संक्रमणबाट जोगिन घर वरपरको वातावरण स्वच्छ र सफा बनाउन विशेष ध्यान दिनुपर्ने पनि स्मरण गराउनुभयो ।

चिकित्सकहरुले ज्वरो आउनु, छाती दुख्नु, सास फेर्न गाह्रो हुनु निमोनिया रोगको मुख्य लक्षण भएको उल्लेख गर्दै तत्काल अस्पताल गएर उपचार गर्न पनि सबैलाई आह्वान गरेका छन । वरिष्ठ चिकित्सक शर्माले छाती दुख्ने, सास फेर्न समस्या हुनेलगायतका समस्या आउनेबित्तिकै बिरामीलाई अस्पतालमा लगेर उपचार गराउन पनि सबैलाई सचेत गराउनुभयो । समयमै अस्पताल नपुर्‍याए निमोनियाको रोगले ज्यानै जान सक्ने चिकित्सकहरुको भनाई छ ।

नोभेम्बर १२ अर्थात् आज विश्वभर विभिन्न चेतनामूलक कार्यक्रम गरी विश्व निमोनिया दिवस मनाइएको छ । विश्वमा हरेक वर्ष निमोनियाकै कारण १६ लाख मानिसको ज्यान जाने गरेको विभिन्न अध्ययन प्रतिवेदनले देखाएको छ । 

नेपाल सरकारले निमोनियाबाट हुने बाल मृत्युदरलाई रोक्न सन् २०१५ सालदेखि राष्ट्रिय खोप अभियाननै सञ्चालन गरिरहेको छ ।
 

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया