ने क पा अध्यक्ष प्रचण्ड र गृहमन्त्री थापाद्वारा गलेश्वर मन्दिरको दर्शन (फोटो फिचर)

 कात्तिक २७, २०७५ मंगलबार १२:५३:२ | प्रताप बानियाँ
unn.prixa.net

म्याग्दी – नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र गृहमन्त्री रामबहादुर थापाले मंगलबार म्याग्दीकाे बेनी नगरपालिका–९, गलेश्वरमा रहेको प्रसिद्ध धार्मिकस्थल गलेश्वर मन्दिरको दर्शन गर्नुभएको छ ।

साथै उहाँहरुले रघुगंगा गाउँपालिका–३, तिल्केनीचौरमा निर्माणाधीन अवस्थामा रहेको ४० मेगावाट क्षमताको जलविद्युत आयोजनाको निरीक्षण गर्नुभयाे ।  

धर्मपत्नी सीताको उपचारका लागि म्याग्दीको तातोपानी कुण्डमा पुग्नुभएका अध्यक्ष प्रचण्ड र जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रको उद्घाटनमा म्याग्दी आउनुभएका गृहमन्त्री थापाले गलेश्वर मन्दिरकाे दर्शनका साथै जलविद्युत आयोजनाको अवलोकन गर्नुभएको हो । 

मन्दिर दर्शनका क्रममा गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष रुद्रबहादुर केसीले अध्यक्ष प्रचण्ड र गृहमन्त्री थापालाई मन्दिरमा स्वागत गर्नुभएको थियो । 

गलेश्वरमा झण्डै १५ मिनेट समय बिताउनुभएका प्रचण्डले गलेश्वर क्षेत्रका बारेमा अध्यक्ष केसीबाट जानकारी लिनुभएको थियो । भेटघाटका क्रममा अध्यक्ष केसीले धार्मिक पर्यटनको केन्द्र बन्दै गैरहेको हुँदा गलेश्वर मन्दिरमा आवश्यक पूर्वाधार विकासको माग गर्नुभएको थियो । 

दाहाल र थापाले मन्दिरका पुजारीबाट फूलप्रसाद र टिका ग्रहण गर्नुभएको थियो ।

विशिष्ट व्यक्तित्वको भ्रमणले गलेश्वर मन्दिर र तातोपानी कुण्डको प्रचारप्रसार तथा विकासमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ ।

२०६६ सालदेखि निर्माण सुरु गरिएको राहुघाट जलविद्युत आयोजनाले निर्माणको गति लिन नसकेपछि यसअघिको ठेकदार कम्पनीसँग ठेक्का सम्झौता तोडेर नयाँ प्रक्रियामार्फत पुनः निर्माण कार्य थालिएको छ । 

विद्युत उपयोग गर्ने समयसम्म पनि आयोजनाको सीमित संरचना निर्माणबाहेक अन्य कामले तीव्रता नपाएपछि सर्वत्र चासोको विषय बन्दै गैरहेको छ ।
    
त्यस्तै अध्यक्ष प्रचण्ड र गृहमन्त्री थापाले म्याग्दी सदरमुकाम बेनीमा रहेको बेनीबजार संरक्षण आयोजनाको पनि स्थलगत रुपमा अवलोकन गर्नुभयो । नेताद्वयले गएको भदौ महिनाको अन्तिमतिर आएको बाढीका कारण भत्किएको तटबन्धको अवलोकन गर्नुभयो । 

अध्यक्ष दाहाल र गृहमन्त्री थापाको टोलीमा गण्डकी प्रदेशका सांसद विनोद केसी, पूर्व सभासद गोविन्दप्रसाद पौडेल, नेकपा नेता हरिकृष्ण श्रेष्ठ, बालकृष्ण सुवेदी, म्याग्दीका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारी, प्रहरी नायव उपरीक्षक विरबहादुर बुढामगर लगायतको उपस्थिति थियो ।

दाहाल र थापाले मल्लाज जाने पदमार्गमा बिहानी पदयात्रा गर्नुभएको थियो । 

लामो समयदेखि बिरामी रहेकी प्रचण्डकी धर्मपत्नी सीता दाहालको डाक्टरको सल्लाहमा तातोपानी कुण्डमा उपचारका लागि प्रचण्ड म्याग्दी आउनुभएको उहाँको निजी सचिवालयले जनाएको छ । उहाँसँगै छोरी गंगा दाहाल, स्वकीय सचिव जोगबहादुर महरा, गृहमन्त्री थापा, उहाँकी धर्मपत्नी नैनकला थापा, छोरी ज्वाँईसहित २४ जनाको टोली म्याग्दीमा रहेको छ । 

सदरमुकाम बेनीको होटल याक एण्ड रेष्टुरेण्टमा बसेको अध्यक्ष प्रचण्डसहितको टोलीलाई लक्षित गरेर म्याग्दीमा सुरक्षा व्यवस्था अत्यन्त कडा बनाइएको छ । 

बुधबार नेकपा म्याग्दीले आयोजना गर्ने कार्यक्रममा नेताहरु सहभागी हुने कार्यक्रम तय भएको छ । 
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

प्रताप बानियाँ

म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया