अदुवाको मूल्यमा केही सुधार : किसान खुशी

 कात्तिक २७, २०७५ मंगलबार १५:३०:४१ | सुजता सुनुवार
unn.prixa.net

इलाम – अदुवाको मूल्यमा सुधार आउँदा व्यवसायीक किसान र व्यापारी खुशी भएका छन् । यो वर्ष अदुवाको मूल्य दोब्बरभन्दा बढीले वृद्धि भएकाले किसान र व्यापारी दुवै खुशी भएका हुन्  ।

निर्यातमा अवरोध भएपछि अघिल्लो वर्ष पाँच सयदेखि एक हजार प्रति मन (४० किलो) का दरले अदुवा बेचेका किसानले यस वर्ष भने सन्तोषजनक मूल्य पाएका छन् ।

गएको भदौमा नै बुढो अदुवा निकासी सहज भएपछि अहिलेसम्म पनि अदुवा निकासी सहज भएको छ । अहिले अदुवा प्रतिमन दुई हजार पाँच सयका दरले खरिदबिक्री भइरहेको व्यापारीहरुको भनाई छ ।

अदुवा निकासीमा समस्या भएपछि यो वर्ष किसानले अदुवाको खेती कम गरेका थिए । उत्पादन कम हुनु , सहज भारत निकासी हुनुले सिजनको सुरुबाटै अदुवाको मूल्यमा सुधार आएको छ ।

इलाम नगरपालिका वडा नम्बर ५ का व्यापारी अग्नि घिमिरेले भन्नुभयो, ‘७० पिकअप अदुवा भारत निकासी भएको छ । जसमा माउको सिजनमा मात्रै ५० पिकअप र खनिएका बच्चा अदुवा २० पिकअप रहेका छन् ।’

किसानले कात्तिकमा नयाँ अदुवा खनेर जमिन खाली गर्छन् र आलु रोप्छन् । मुख्य खेतीका रुपमा व्यवसायिक अदुवा खेती गरिरहेका इलाम नगरपालिका वडा नम्बर ४ का किसान लक्ष्मी दाहालले भन्नुभयो, ‘गएको वर्ष बिन्ति गरेर व्यापारीलाई प्रतिमन ६ सयदेखि आठ सयसम्मको दाममा दिएका थियौँ । तर यो वर्ष खरिदबिक्री सहज छ ।’

व्यापारी घरैमा आएर मनको दुई हजार पाँच सय रुपैैयाँसम्ममा अदुवा किनिरहेका छन् । उहाँले भन्नुभयो, ‘गएको वर्ष बिक्री नभएका अदुवालाई नै  बीउ बनाएर रोपेका हौं । भाउ निश्चित हुन्न, आउने जाने हुन्छ । लागेको घाटा यस वर्षकोले पो उठाउला कि भनेर रोपेको अदुवाले राम्रो मूल्य पाएकोले खुशी लागेको छ ।’

विगतका वर्षमा निरन्तर खेती गरिरहेका २० घरपरिवारले यो वर्ष अदुवा खेती गर्न नै छोडेको किसान दाहालले जानकारी दिनुभयो । यसवर्ष ८० मन उत्पादन गरिएकोमा ४० मन बिक्री गरेर ४० मन बीउका लागि राख्ने तयारी गरिएको उहाँले बताउनुभयो ।

दाहालका अनुसार बीउमा अझ राम्रो भाउ लाग्ने भएकाले समेत बीउका लागि किसानले अदुवा बढी राख्ने गर्छन् । एक मन बीउबाट राम्रो फल्ने हो भने चार मनसम्म उत्पादन हुने गर्छ । बीउ बिक्रीको सिजनमा अदुवाको मूल्य चार हजार पाँच सयसम्म पुग्ने आशा लिएको उहाँले बताउनुभयो ।

भारतीय बजारको भरमा अदुवा उत्पादन हुँदै आएकाले बजारको विकल्प खोज्न सके किसान, व्यापारी र देशको अर्थतन्त्रलाई नै लाभ हुने देखिएको उद्योग वाणिज्य संघले जनाएको छ ।

संघका अध्यक्ष आनन्द कट्टेलले भन्नुभयो, ‘यस वर्ष बिक्यो भनेर त्यत्तिकै बसियो भने फेरि गएको वर्षको जस्तै समस्या नदोहोरिला भन्न सकिँदैने  । उचित मूल्यमा बिक्ने ग्यारेन्टी भए कृषक फलाउन उत्सहित हुन्थे । अदुवाबाट स्वदेशमै मसला, सुठो, सेन्ट, जाम, क्यान्डी, स्याम्पु लगायत बनाउनेको सम्भावनाको खोजी सरकारी तहबाटै गर्न जरुरी छ ।’

इलामका सूर्योदय, इलाम नगरपालिका, साविक नाम्सालिङ्ग, बरबोटे, सोयाङ्ग, सोयाक, धुसेनी, गजुरमुखी, गोदक, साखेजुङ्गलगायत पाँचथरको फिदिमसहित साविक यासोक, सिम्ले, भुल्के, सराङ्गडाँडाँ, रानीटार लगायतका गाउँमा प्रसस्त अदुवा उत्पादन हुन्छ ।

यस्तै झापा, मोरङ्ग, उदयपुर, धनकुटा, ताप्लेजुङ्ग, नवलपरासी, सुर्खेत, मकवानपुर, पाल्पा, सल्यान, स्याङ्गजा, डडेल्धुरा, दाङ्ग, कैलालीलगायत देशका २० जिल्लामा अदुवाको व्यावसायीक खेती गरिने गरेको पाइन्छ ।

‘जिन्जर प्रोफाइल २०१६’ को तथ्याङ्क अनुसार इलाममा तीन हजार दुई सय ३३ हेक्टर क्षेत्रफलमा ४५ हजार नौ सय ९५, पाँचथरको ६ सय ६१ हेक्टरमा आठ हजार आठ सय ३९, धनकुटामा दुई सय ४९ हेक्टरमा चार हजार नौ सय ३३, तेह्रथुमको दुई सय १२ हेक्टरमा तीन हजार दुई सय ७७, र झापाको तीन सय ४२ हेक्टरमा चार हजार पाँच सय ८३ मेट्रिक टन अदुवा उत्पादन भएको छ  ।

यस्तै व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार सन् २०१७ मा नेपालबाट १४ करोड ७७ लाख ५८ हजार ५ सय २९ रुपैयाँको अदुवा निकासी भएको पाइन्छ । केन्द्रको तथ्याकं अनुसार सन् २०१७ मा ६५ लाख ८२ हजार आठ सय ९७ किलो अदुवा निकासी भएको छ । जसमध्ये सबैभन्दा बढी मेची भन्सार कार्यालयबाट १४ करोड ४६ लाख ८४ हजार रुपैयाँको अदुवा भारत निकासी भएको देखिन्छ ।


 

अन्तिम अपडेट: चैत १५, २०८०

सुजता सुनुवार

सुजता सुनुवार उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया