राष्ट्रियसभा नियमावली सर्वसम्मतिले पारित

 जेठ २७, २०७५ आइतबार १६:२९:४० | उज्यालो सहकर्मी

काठमाडाैं – राष्ट्रियसभा नियमावली, २०७५ आईतबार पारित भएको छ ।

राष्ट्रियसभाको आइतबार बसेको बैठकले राष्ट्रियसभा नियमावली, २०७५ सर्वसम्मतले पारित भएको हो । बैठकमा राष्ट्रियसभा नियमावली मस्यौदा समितिका सभापति परशुराम मेघी गुरुङले राष्ट्रियसभा नियमावली पारित गरियोस् भनि प्रस्ताव राख्नु भएको थियो ।

राष्ट्रियसभा प्रस्ताव राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले निर्णयार्थ पेश गरेलगत्तै सर्वसम्मतिले पारित गरिएको हो । फौजदारी अभियोग लागेर पुर्पक्षका लागि थुनामा रहेका सांसदहलाई निलम्बन नगर्ने पक्षमा सबै दलको सहमति भएपछि नियमावली सर्वसम्मतिले पारित भएको हो । नियमावलीमा फौजदारी अभियोग लागेका सांसदहरुको सेवा, सुविधा भने कटौति हुने स्पष्ट पारिएको छ ।

नियमावलीमा फौजदारी अभियोग लागेर पुर्पक्षका लागि थुनामा रहेका सांसदहरुलाई संघीय कानुन बनाएर कारबाही गर्ने व्यवस्था गरिएको नियमावली मस्यौदा समितिका सभापति गुरुङले बताउनुभयो । उहाँले फौजदारी अभियोग लागेका सांसदहरुलाई कारबाही गर्ने व्यवस्था कानुनमै उल्लेख गर्न उपयुक्त हुने कुरामा संसदमा सहमति जुटेको पनि स्पष्ट पार्नु भयो ।

नियमावलीमा ४ वटा समिति रहने व्यवस्था गरिएको छ । संसदमा सरकारलाई जवाफदेही बनाउन प्रधानमन्त्री र मन्त्रीहरुले अनिवार्य जवाफ दिने बाध्यात्मक व्यवस्था पनि गरिएको छ । नियमावलीमा समितिको नेतृत्वमा ३३ प्रतिशत महिला अनिवार्य रहने व्यवस्था पनि गरिएको छ ।

बैठकमा राष्ट्रियसभाका विपक्ष दलका नेता सुरेन्द्रराज पाण्डेले राष्ट्रियसभालाई सहमतिमै अघि बढाउन नियमावली पनि सर्वसम्मतिले पारित गर्नु परेको बताउनु भएको थियो । राष्ट्रियसभाको अर्को बैठक आगामी असार ३ गते आईतबार ११ बजे बस्नेछ ।

 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया